रुद्रबहादुर खड्का, सिन्धुली ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कार्यालयले पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि गरेको आरोपमा सिन्धुलीका दुई जिल्ला तहका नेतामाथि कारबाही गरेको छ ।
प्रदेश कार्यालयद्वारा जारी निर्णयअनुसार जिल्ला समन्वय समितिका इन्चार्ज बुद्धिमान माझी (बसन्त) र संयोजक पारिराज बज्रजनलाई उहाँहरूले वहन गर्दै आएका सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सिन्धुली निर्वाचन क्षेत्र नं. २ का आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारी खडा गराउन भूमिका खेलेको आरोप उहाँ हरूमाथि लगाइएको छ ।
साथै, पार्टीले पटक–पटक गरेको औपचारिक तथा अनौपचारिक अनुरोध तथा निर्देशनको अवज्ञा गरेको पनि पत्रमा उल्लेख गरिएको छ ।
निर्णयको बोधार्थ केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौं तथा सम्बन्धित व्यक्तिहरूलाई पठाइएको प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेश पदाधिकारीहरूको हस्ताक्षरसहित जारी उक्त निर्णयपछि सिन्धुलीमा चुनावी माहोल थप तातेको छ ।