रुद्रबहादुर खड्का, सिन्धुली।
सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-३, लामासोतीमा एक जना बालकलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
दुर्घटनामा आठ वर्षीय अभिग बयलकोटी गम्भीर घाइते भई उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टार क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ भने सवारी चालकलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ ।
स्थानीयले दुर्घटनापछि सडक सुरक्षाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रहरीले वार्ता तथा समन्वयमार्फत सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।