मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कार्यसम्पादनमा महानगरमध्ये काठमाडौँ पुछारमा-‘चर्चा बढी-नतिजा कमजोर’(सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा काठमाडौँ महानगरपालिका देशका ६ महानगरमध्ये सबैभन्दा कमजोर ठहरिएको छ । ४४.९७ अङ्क प्राप्त गर्दै काठमाडौँ महानगर छैटौँ अर्थात् अन्तिम स्थानमा परेको हो ।

महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले पदबाट राजीनामा दिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

हाल उपप्रमुख सुनीता डङ्गोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । बालेनले आफ्नो कार्यकालमा महानगरमा उल्लेख्य सुधार र काम भएको दाबी गर्दै आएका भए पनि आयोगको प्रतिवेदनले भने अपेक्षाकृत कमजोर कार्यसम्पादन देखाएको छ ।

आयोगले १७ ओटा सूचकलाई आधार मानेर प्रशासनिक क्षमता, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन र सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गरेको जनाएको छ ।

सार्वजनिक बहस र सामाजिक सञ्जालमा बालेनको नेतृत्व शैली र सक्रियताको व्यापक चर्चा हुँदै आएको भए पनि प्रतिवेदनले काठमाडौँ महानगरको वास्तविक कार्यसम्पादन भने चर्चाभन्दा निकै कम रहेको छ ।

देशभरिका ६ महानगरमध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित पहिलो स्थानमा रहेको छ ।

ललितपुर महानगरपालिका ७६.३३ अङ्कसहित दोस्रो स्थानमा छ भने भरतपुर महानगरपालिका ६८.०४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी पोखरा महानगरपालिका ५८.०४ अङ्कसहित चौथो र वीरगन्ज महानगरपालिका ५४ अङ्कसहित पाँचौँ स्थानमा छन् ।

विश्लेषकहरूका अनुसार सामाजिक सञ्जालमा देखिने सक्रियता र वास्तविक संस्थागत कार्यसम्पादनबिचको अन्तर यो प्रतिवेदनले उजागर गरेको छ ।

आयोगको मूल्याङ्कनले स्थानीय तहहरूलाई नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा थप ध्यान दिनुपर्ने सन्देश दिएको छ ।

Author

Related News