मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बस दुर्घटनापछि क्षतिपूर्ति माग चर्किँदा मन्थलीमा हवाई फायर !

सिन्धुली । रामेछापको मन्थली नगरपालिका–६ मा बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले राखेका माग सम्बोधन गर्न ढिलाइ भएको भन्दै आन्दोलन चर्किँदा प्रहरीले २०८२ माघ २८ गते साँझ दुई राउन्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा दिउँसो बसेको सर्वदलीय बैठकमा पीडित परिवारले विभिन्न माग राखेका थिए ।

ती माग तत्काल सम्बोधन नभएको भन्दै आक्रोशित पीडितहरू प्रशासन कार्यालयको गेटमा धर्ना बसेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भीड नियन्त्रणका लागि खटिएको नेपाल प्रहरीको टोलीले दुई राउन्ड हवाई फायर गर्नुका साथै दुई वटा अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

तनाव बढेपछि जिल्लाको सुरक्षालाई ध्यानमा राख्दै ठाउँठाउँमा नेपाली सेना तैनाथ गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

काठमाडौँबाट मन्थली हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बस २०८२ माघ २७ गते मन्थली नगरपालिका-६ भलुवाजोरस्थित त्रिवेणी मन्दिर नजिकै दुर्घटनामा पर्दा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । केही यात्रु अझै बेपत्ता रहेको जनाइएको छ ।

घाइतेहरूको काठमाडौँ र धुलिखेलका अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

भदौ २४ को ‘जेन्जी आन्दोलन’सहित अन्य घटनामा शान्त देखिएको रामेछापमा लामो समयपछि फेरि गोली चलेको हो ।

जानकारहरूका अनुसार मन्थलीमा करिब दुई दशकपछि गोली चलाइएको हो । स्थानीयहरूले पीडितका माग सम्बोधनमा ढिलासुस्ती गर्दै प्रशासनले दमनकारी रणनीति अपनाएको आरोप लगाएका छन् ।

दिनभर ठप्प रहेका सवारीसाधन साँझतिर आंशिक रूपमा सञ्चालनमा आए पनि पीडितहरूले आफ्ना माग पूरा नभए भोलिदेखि बीपी राजमार्गसहितका सवारी पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएका छन् ।

जिल्लाको अवस्था अझै तनावपूर्ण रहेकाले सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाइएको छ ।

Author

Related News