दलित र अपाङ्गता भएका व्यक्तिलाई १ करोड रुपियाँसम्म सहुलियतपूर्ण ऋण
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीले २०८२ माघ २७ गते सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उद्यमशीलता विकासलाई उच्च प्राथमिकतामा राखिएको छ ।
नेकपाले दलित, अल्पसङ्ख्यक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै उत्पादन तथा रोजगारीमूलक उद्यमका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रतिबद्धता पत्रअनुसार यस्ता वर्गका व्यक्तिहरूले १० वर्षका लागि १ करोड रुपियाँसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।

पार्टीले उक्त ऋणमा लाग्ने ब्याजदर जम्मा ५ प्रतिशत मात्र हुने स्पष्ट उल्लेख गरेको छ । आर्थिक रूपमा पछाडि पारिएका समुदायलाई उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको नेकपाको दाबी छ ।
प्रतिबद्धता पत्रमार्फत नेकपाले रोजगारी सिर्जना, उत्पादन वृद्धि र समावेशी आर्थिक विकासलाई प्राथमिकतामा राख्दै निर्वाचनमा जनताको विश्वास जित्ने प्रयास गरेको जनाएको छ ।