काठमाडौँ । गण्डकी प्रदेशका विभिन्न प्रादेशिक अस्पतालमा कार्यरत १२ जना दर्तावाला नर्सले ३५ दिने सघन उपचार कक्ष (आईसीयू) व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय चिकित्सा अध्ययन संस्थान (नाम्स) वीर अस्पताल तथा कर्मफ्लाइट्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम २०८३ असार १४ गते वीर अस्पताल, काठमाडौंमा सम्पन्न भएको हो ।
तालिममा गण्डकी प्रदेशका विभिन्न प्रादेशिक अस्पतालका १० जना र नाम्स वीर अस्पतालका दुई जना नर्स सहभागी थिए ।
तालिमले गण्डकी प्रदेशका अस्पतालमा आईसीयू सेवाको गुणस्तर सुधार गर्नुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय सघन उपचार सेवा विस्तार गर्न दक्ष नर्सिङ जनशक्ति तयार पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
समापन समारोहका प्रमुख अतिथि वार्म नेस्ट फाउन्डेसन (एसडब्लुएन) नेपालका प्रमुख रमेश पौड्यालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गर्दै सहकर्मीहरूसँग अनुभव आदानप्रदान गर्न तथा गुणस्तरीय आईसीयू सेवा विस्तारमा योगदान दिन सहभागीलाई आग्रह गर्नुभयो ।
नाम्स वीर अस्पतालकी प्रमुख नर्सिङ अधिकृत सङ्गीता श्रेष्ठले कार्यक्रम सञ्चालन तथा आवश्यक स्रोत व्यवस्थापनमा गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रको भूमिकाको प्रशंसा गर्दै वार्म नेस्ट फाउन्डेसन र कर्मफ्लाइट्स फाउन्डेसन नेपालको सहकार्यले दक्ष आईसीयू नर्स उत्पादनमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवर, कर्मचारी अप्सरा केसी र सुभाष पौडेलले तालिमले गुणस्तरीय नर्सिङ सेवा विस्तार गर्दै फ्लोरेन्स नाइटिङ्गेलको सेवामूलक दृष्टिकोणलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताउनुभयो ।
तालिमकी मुख्य प्रशिक्षक सविता कार्कीले आईसीयूको पूर्ण पूर्वाधार नहुँदा पनि सकारात्मक सोच, सुदृढ क्लिनिकल निर्णय क्षमता र व्यावसायिक प्रतिबद्धताबाट उत्कृष्ट बिरामी सेवा दिन सकिने बताउँदै तालिमले सहभागीहरूको दीर्घकालीन व्यावसायिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीहरूले प्रशिक्षक, मेट्रन, आईसीयू इन्चार्ज तथा नाम्स वीर अस्पतालको नर्सिङ टोलीप्रति आभार व्यक्त गर्दै तालिमअघि भेन्टिलेटर व्यवस्थापन र आईसीयू सञ्चालनबारे सीमित ज्ञान रहेको भए पनि अहिले बिरामीको निगरानी, मूल्याङ्कन र आधारभूत आईसीयू सञ्चालनमा आत्मविश्वास बढेको अनुभव सुनाए ।
गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका तालिम समन्वयक लालुप्रसाद शर्मा र जनस्वास्थ्य अधिकृत सृष्टि सुवेदीले छोटो तयारी अवधिमा पनि कार्यक्रम सफल बनाउन अस्पताल व्यवस्थापनले गरेको समन्वयको प्रशंसा गर्दै यस्ता सहकार्यले स्वास्थ्यकर्मीको क्षमता विकासमा थप योगदान पुग्ने बताउनुभयो ।
तालिममा बुर्तिबाङ अस्पताल, धौलागिरि अस्पताल, पर्वत अस्पताल, मध्यबिन्दु अस्पताल, पुतलीबजार अस्पताल, गोरखा अस्पताल, लमजुङ अस्पताल, दमौली अस्पताल, मितेरी मातृशिशु अस्पताल, गण्डकी अस्पताल तथा नाम्स वीर अस्पतालका नर्स सहभागी थिए ।
तालिम सुरु हुनुअघि सहभागीहरूको औसत ज्ञानस्तर ३८ प्रतिशत रहेकोमा तालिमपछि ९३.५ प्रतिशत पुगेको मूल्याङ्कनले देखाएको आयोजकले जनाएको छ ।
बुर्तिबाङ प्रादेशिक अस्पतालमा उच्च निर्भरता कक्ष (एचडीयू) तथा भविष्यमा आईसीयू स्थापना गर्ने विषयमा समेत सरोकारवालाबिच छलफल भएको जनाइएको छ।