काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रतासम्बन्धी १ सय १ ओटा घटना भएका छन् । प्रेस काउन्सिल नेपालका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको अवधिमा ती घटना अभिलेख गरिएका हुन् ।
अभिलेखअनुसार सबैभन्दा बढी धम्कीका ३६ घटना भएका छन् । त्यस्तै आक्रमणका २७, पेशागत असुरक्षाका १३, कब्जा/अवरोधका १०, दुर्व्यवहारका पाँच, गिरफ्तारीका तीन, गालीगलौजका तीन, नीतिगत बन्देजका तीन र शङ्कास्पद मृत्युको एक घटना अभिलेख गरिएको छ ।
प्रदेशगत रूपमा सबैभन्दा बढी घटना बागमती प्रदेशमा ४७ ओटा भएका छन् । त्यसपछि मधेश प्रदेशमा १८, कोशी प्रदेशमा १२, सुदूरपश्चिम प्रदेशमा नौ, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा पाँच र कर्णाली प्रदेशमा दुई ओटा घटना भएका छन् ।
यी घटनामा १ सय १९ जना पत्रकार पीडित भएको प्रेस काउन्सिलको अभिलेखमा उल्लेख छ । पीडितमध्ये १ सय १३ जना पुरुष र ६ जना महिला पत्रकार रहेका छन् ।
काउन्सिलका अनुसार एउटै घटनामा एकभन्दा बढी व्यक्ति पीडित भएको अवस्थामा पीडितको सङ्ख्या घटना सङ्ख्याभन्दा बढी देखिएको हो ।
प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी चार घटना पनि अभिलेख गरिएको जनाइएको छ । तीमध्ये बागमतीमा दुई तथा मधेश र कोशीमा एक/एक घटना रहेका छन् ।
प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन काउन्सिलले यससम्बन्धी घटनाको अनुगमन, उजुरी सुनुवाइ तथा आवश्यक कारबाही गर्दै आएको जनाएको छ ।
काउन्सिलले प्रेस स्वतन्त्रतासम्बन्धी कार्यक्रम तथा छलफल, सञ्चारमाध्यमको स्थलगत अध्ययन/अनुगमन र श्रमजीवी पत्रकारका उजुरी–निवेदनका आधारमा घटना अभिलेख गरेको जनाएको छ ।
