नेपाल औषधि व्यवसायी सङ्घको केन्द्रीय ५३औँ महाधिवेशन २०८३ मङ्सिर ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुँदैछ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र पर्यटकीय सम्भावनाले भरिपूर्ण कर्णाली प्रदेशमा हुन लागेको यस महाधिवेशनको सम्पूर्ण व्यवस्थापकीय तयारी आयोजक कर्णाली प्रदेश सङ्घले गरिरहेको छ । देशभरिका औषधि व्यवसायी, प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने महाधिवेशनले सङ्घको साङ्गठनिक सुदृढीकरणसँगै औषधि व्यवसायका समसामयिक चुनौती, व्यावसायिक एकता र भावी कार्यदिशाबारे छलफल गर्ने अपेक्षा गरिएको छ । यसले कर्णालीको पर्यटन, संस्कृति र आतिथ्यलाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत प्रदान गर्ने विश्वास गरिएको छ । यसै सन्दर्भमा महाधिवेशनको तयारी, व्यवस्थापन, नेतृत्व चयन, औषधि व्यवसायका सवाल तथा कर्णाली प्रदेशका विशेषताबारे नेपाल औषधि व्यवसायी सङ्घ (एनसिडीए) कर्णाली प्रदेशका अध्यक्ष एवम् अग्रज औषधि व्यवसायी प्रेम भण्डारीसँग मानव आवाजका लागि मधु पन्थीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
५३औँ केन्द्रीय महाधिवेशनमा आयोजक प्रदेश सङ्घको अध्यक्षका रूपमा यहाँको भूमिका कस्तो रहनेछ ?
नेपाल औषधि व्यवसायी सङ्घको ५३औँ केन्द्रीय महाधिवेशन ऐतिहासिक भूभाग कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुनु हाम्रा लागि गौरवको विषय हो । आयोजक प्रदेश सङ्घको नेतृत्व (अध्यक्ष) को हैसियतमा मेरो मुख्य भूमिका आतिथ्य, समग्र व्यवस्थापकीय संयोजन, प्रादेशिक समन्वय र महाधिवेशनलाई भव्य तथा अनुशासित रूपमा सम्पन्न गराउनु रहनेछ । देशैभरिबाट अउनुहुने केन्द्रीय पदाधिकारी, अग्रज व्यवसायी, प्रतिनिधि तथा पर्यवेक्षक साथीहरूलाई न्यानो आतिथ्यता प्रदान गर्दै महाधिवेशनलाई व्यवस्थापकीय हिसाबले उत्कृष्ट, मर्यादित र ऐतिहासिक बनाउन म र मेरो सम्पूर्ण प्रादेशिक कमिटी अहोरात्र खटिरहेका छौँ ।
महाधिवेशनलाई यहाँले कुन रूपमा लिनुहुन्छ ?
म यसलाई चुनौतीभित्र लुकेको अभूतपूर्व अवसरको रूपमा लिन्छु । भौगोलिक विकटता, पूर्वाधार तथा स्रोतसाधनको सीमितताका बिच देशैभरिका हजारौँ व्यवसायी साथीहरूलाई एउटै मञ्चमा सहज र भव्य रूपमा व्यवस्थापन गर्नु पक्कै पनि एउटा साङ्गठनिक चुनौती हो। तर, यस चुनौतीलाई स्वीकार गर्दै कर्णालीको आतिथ्यता, व्यवस्थापकीय क्षमता र सामर्थ्यलाई राष्ट्रिय स्तरमा प्रमाणित गर्ने यो हाम्रा लागि ऐतिहासिक अवसर हो। यस महाधिवेशनले कर्णाली प्रदेश केवल प्राकृतिक रूपमा सुन्दर मात्र होइन, ठूला राष्ट्रिय सञ्जाल र कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न पूर्ण सक्षम छ भन्ने सन्देश दिनेछ ।
महाधिवेशनमार्फत कर्णालीको आन्तरिक पर्यटन प्रवर्धनका लागि केकस्ता कार्यक्रम तय गर्नुभएको छ ?
निसन्देह । हामीले यस महाधिवेशनलाई केवल साङ्गठनिक विषयमा मात्र सीमित नराखी कर्णालीको आन्तरिक पर्यटन, संस्कृति र पहिचान प्रवर्धनको उत्सवका रूपमा समेत अगाडि बढाएका छौँ । महाधिवेशनमा सहभागी हुन आउनुहुने प्रतिनिधि तथा अतिथिहरूका लागि सुर्खेतका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू (जस्तैः काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै) अवलोकनको विशेष व्यवस्था मिलाएका छौँ । साथै, कर्णालीको मौलिक खानपान, रैथाने परिकार, सांस्कृतिक झाँकी तथा हुड्केली जस्ता लोकसंस्कृतिको प्रत्यक्ष अनुभव गराउने प्रबन्ध गरिएको छ । यसले समग्र कर्णालीको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउने हाम्रो विश्वास छ ।
महाधिवेशनको तयारी र व्यवस्थापनमा कोकोसँग सहकार्य भइरहेको छ ?
यो महाधिवेशन सङ्घको मात्र नभई समग्र कर्णाली प्रदेशकै प्रतिष्ठाको विषय भएकाले हामीले बहुपक्षीय सहकार्य र समन्वय गरिरहेका छौँ । नीतिगत मार्गदर्शनका लागि केन्द्रीय कार्यसमितिसँग तथा सुरक्षा, स्वास्थ्य, यातायात र नगर व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकार, सुर्खेतस्थित स्थानीय तह र जिल्ला प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ । त्यसैगरी, आवास तथा आतिथ्य व्यवस्थापनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश, स्थानीय चेम्बर तथा होटल व्यवसायी सङ्घहरूसँग सहकार्य गरिएको छ । महाधिवेशनलाई अनुशासित र सुरक्षित रूपमा सम्पन्न गर्न स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुका साथै युवा स्वयम्सेवक टोलीसमेत परिचालन गरिएको छ ।
महाधिवेशनको मुख्य नारा के छ ? नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्नुहुन्छ कि निर्वाचनमा जानु उपयुक्त ठान्नुहुन्छ ?
महाधिवेशनको मुख्य नारा ‘व्यावसायिक एकता, सहभागिता र समृद्धिको अभियान, औषधि क्षेत्रको साझा पहिचान’ रहेको छ । नेतृत्व चयनका सन्दर्भमा संस्थाको गरिमा, एकता र व्यावसायिक हितलाई सर्वोपरि राख्दै सहमतिका आधारमा सक्षम, दूरदर्शी र समर्पित नेतृत्व चयन गर्नु उपयुक्त हुने मेरो मान्यता छ । यदि लोकतान्त्रिक अभ्यासका क्रममा निर्वाचनमा जानुपर्ने अवस्था आएमा पनि त्यसलाई स्वच्छ, मर्यादित र आपसी सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्छ । नेतृत्वमा जो आए पनि समग्र औषधि व्यवसायीको हकहित र मर्यादित व्यवसायको संरक्षणमा समर्पित हुनुपर्छ भन्ने मेरो धारणा छ ।
यसअघिका महाधिवेशनभन्दा सुर्खेतमा हुने यस महाधिवेशनलाई विशेष बनाउन के सोच्नुभएको छ?
कर्णालीको आफ्नै विशिष्ट पहिचान, संस्कृति र आत्मीयता छ । यस महाधिवेशनमा सहभागीहरूलाई कर्णालीको मौलिक आतिथ्यता, आत्मीय व्यवहार र आदरसत्कारको अनुभूति गराउने हाम्रो प्रयास रहनेछ । महाधिवेशनस्थलभित्र औषधि व्यवसायका समसामयिक विषयमा गम्भीर छलफल हुनेछ भने बाहिर कर्णालीको रैथाने संस्कृति, लोकसङ्गीत र प्राकृतिक सौन्दर्यसँग परिचित गराइनेछ । त्यसैगरी, उपत्यकाबाहिर आयोजना हुन लागेको यस महाधिवेशनमा सुगम र दुर्गम क्षेत्रका औषधि व्यवसायीका व्यावहारिक समस्या तथा नीतिगत सवाललाई प्राथमिकताका साथ उठान गरी ठोस निष्कर्षसहितको ‘सुर्खेत घोषणापत्र’ जारी गर्ने तयारीसमेत गरेका छौँ ।
देशभरिका औषधि व्यवसायी तथा महाधिवेशनका सहभागीलाई केही भन्न चाहनुहुन्छ ?
म देशैभरिका आदरणीय औषधि व्यवसायी साथीहरू, सञ्चारकर्मी, उद्योगी-व्यवसायी तथा सरोकारवाला सम्पूर्णमा १५ औँ महाधिवेशनमा हार्दिक स्वागत तथा निमन्त्रणा व्यक्त गर्दछु । सुर्खेतमा हुन लागिरहेको यो ऐतिहासिक महाधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल पार्न यहाँहरूको रचनात्मक सुझाव, सहभागिता र सहयोगको अपेक्षा गर्दछु । कर्णाली प्रदेश सङ्घ यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न आतुर छ ।