मानव आवाज

२०८३ कात्तिक २० गते
00: 00: 00
२०८३ कात्तिक २० गते

तिहारलाई मर्यादित र सुरक्षित बनाउन कास्की प्रशासनको आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तिहार पर्व तथा देउसीभैलो कार्यक्रमलाई सभ्य, सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रशासनले यससम्बन्धी विभिन्न मापदण्ड र निर्देशन जारी गर्दै देउसीभैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले २०८३ कात्तिक २० गते सूचना जारी गर्दै नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी तिहार तथा देउसीभैलो कार्यक्रम मर्यादित र अनुशासित रूपमा मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रमेश घर्तीले जारी गरेको सूचनाअनुसार देउसीभैलो खेल्दा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा असर पुग्ने गतिविधि गर्न पाइने छैन ।

त्यसैगरी ध्वनि प्रदूषण हुने गरी डिजे, अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग गर्न पनि निषेध गरिएको छ ।

अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सर्वसाधारणलाई अनावश्यक बाधा नपुग्ने गरी कार्यक्रम सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ ।

कुनै पनि घर, निजी आवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्नेछ । अनुमति नदिएको स्थानमा जबर्जस्ती देउसीभैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य गर्न पाइने छैन ।

भुइँचम्पा, आतिसबाजी, रकेट, पटका जस्ता विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने अन्य पदार्थको प्रयोग, ओसारपसार र भण्डारणमा पूर्ण रोक लगाइएको छ ।

बालबालिकालाई असुरक्षित स्थानमा लैजाने, जोखिमपूर्ण गतिविधिमा संलग्न गराउने वा उनीहरूको सुरक्षामा लापरबाही गर्नसमेत निषेध गरिएको छ ।

सूचनामा उल्लिखित निर्देशनविपरीत कार्य गरी प्रचलित कानुन उल्लङ्घन गरेमा, सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव वा सर्वसाधारणको आवतजावतमा बाधा पुर्‍याएमा कानुनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

साथै, कुनै विवाद, आगलागी वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार