पोखरा । पर्यटकीय राजधानी पोखराको शान्ति सुरक्षा कायम गर्नुका साथै पर्यटक तथा सर्वसाधारणलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले प्रहरीले ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत पोखरा महानगरपालिका-६, लेकसाइड क्षेत्रबाट २१ जना पक्राउ परेका छन् भने २७ ओटा सवारीसाधन कारबाहीको दायरामा परेका छन् ।
पक्राउ परेकामध्ये ६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने अन्यलाई आवश्यक सोधपुछ तथा सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ ।
लेकसाइड क्षेत्रमा झैझगडा गर्ने, पर्यटकलाई अनावश्यक दुःख दिने, दुर्व्यवहार गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले अभियान सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले गएराति १ बजेदेखि बिहान ५ बजेसम्म लेकसाइड क्षेत्रमा विशेष सुरक्षा कारबाही सञ्चालन गरेको थियो ।
कास्की प्रहरी प्रमुख नवीन कार्कीका अनुसार अभियानका क्रममा पक्राउ पर्नेमा झन्डीबुर्जा खेलाउने १० जना, अवाञ्छित गतिविधिमा संलग्न ६ जना, झैझगडा गर्ने दुई जना र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तीन जना रहेका छन् ।
त्यसैगरी, सवारीसाधन जाँचका क्रममा २७ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । तीमध्ये १५ ओटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने दुईवटा सवारीसाधनका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरिएको प्रहरीले जनाएको छ। बाँकी १० वटा सवारीसाधन थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा राखिएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य रूपमा सम्पन्न गराउने, पर्यटक तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने र पोखराको पर्यटन वातावरणलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
प्रहरीले चाडपर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्नुका साथै लेकसाइड क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ ।