पोखरा । सार्वजनिक तथा धार्मिक स्थलको सौन्दर्यकरणसँगै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले पोखरा महानगरपालिका-२८ कालिकास्थित त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा २०८३ जेठ ३० गते आयोजित कार्यक्रममा विभिन्न प्रजातिका फलफूल, फूल तथा अन्य बिरुवाहरू रोपिएका हुन् ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मन्दिर परिसरमा बर, पीपल, सिमी, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वरलगायत विभिन्न जातका बिरुवाहरू रोपिएको आयोजकले जनाएको छ। वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू वन कार्यालय कास्कीले उपलब्ध गराएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एशोसियसन सामाजिक कार्यमा सक्रिय संस्था भएको उल्लेख गर्दै यसले समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो ।
उहाँले मन्दिर परिसरमा गरिएको वृक्षारोपणले धार्मिक स्थलको सौन्दर्य थप वृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा कार्यालय र एशोसियसनबिच आगामी दिनमा विभिन्न सामाजिक तथा विकासमूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

मन्दिर परिसरमा रोपिएका बिरुवाको संरक्षणका लागि एशोसियसनको तर्फबाट आवश्यक सहयोग रहने उहाँको भनाइ थियो ।
एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै वातावरण संरक्षणलाई प्राथमिकता दिएर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिकी सल्लाहकार राधिका पौडेल, गाउँ सुधार समूहका कोषाध्यक्ष तथा बुद्धिजीवी माधवप्रसाद पौडेललगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरी पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो अवसरमा एशोसियसनले त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिलाई दुई थान डस्टबिन हस्तान्तरण गरेको थियो । कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले वातावरणीय स्वच्छता कायम राख्नुका साथै स्थानीय समुदायमा हरित वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।