पोखरा । पोखराका पत्रकारहरूलाई पत्रकारिताका विषयमा समयानुकूल र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पत्रकारितामा मल्टिमिडिया तथा एआई’ सम्बन्धी तालिम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोग एवम् नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन)को प्राविधिक सहयोगमा यो तालिम सुरू भएको हो ।
तालिम २०८३ वैशाख २७ गतेदेखि पोखरा महानगरपालिका-७ स्थित महासङ्घको सभाकक्षमा आयोजना गरिएको छ ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पत्रकारितालाई समाज रूपान्तरणको मुख्य आधारका रूपमा चित्रण गर्नु भएको छ ।
पत्रकारको कलमले समुदाय, समाजलाई सही दिशा दिने र सरकारका कमजोरी औँल्याएर सुधारको बाटो देखाउने उहाँले बताउनु भयो ।
तालिमका सहजकर्ताले पत्रकारितामा प्रविधिको बढ्दो प्रयोग, मल्टिमिडिया सामग्री उत्पादन, डिजिटल प्लेटफर्मको प्रभावकारी उपयोग तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे सहभागीलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा समाचार लेखन, भिडियो स्टोरी निर्माण, मोबाइल पत्रकारिता (MoJo), एआई टुल्सको प्रयोग, तथ्य परीक्षण तथा डिजिटल सुरक्षालगायत विषयमा विशेषज्ञहरूले सहजीकरण गर्नेछन्।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पत्रकारिता क्षेत्रमा प्रविधिको ठूलो प्रभाव परेको र मोबाइल जर्नालिज्मको महत्व बढ्दै गएको बताउनु भयो । अहिले प्रविधिको विकासले पत्रकारितालाई सहज र छिटो बनाएको उहाँको भनाइ थियो ।
महासङ्घका जिल्ला अध्यक्ष माधवप्रसाद बरालले तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा छलफल र अभ्यास गरिने बताउनु भयो ।
उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख माधव रेग्मीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव भूपाल गुरुङले गर्नु भएको थियो ।
तालिममा पोखरामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता रहेको छ ।