पोखरा । मानव बेचबिखनका जोखिम, सुरक्षित जीवनशैली तथा मानवअधिकारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कास्कीमा विद्यालयस्तरीय प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
“उद्दार, रोकथाम र पुनर्स्थापनाको माध्यमबाट मानव बेचबिखनको अन्त्य गरौँ” भन्ने नारासहित मानव अधिकारका लागि दलित महिला सशक्तिकरण नेपाल, कास्कीको आयोजनामा तथा थ्री एन्जल्सको समन्वयमा आयोजित मानव बेचविखन विरुद्धको सचेतना कार्यक्रम २०८३ जेठ २६ गते पोखरा महानगरपालिका–२८ स्थित जनज्योति माध्यमिक विद्यालय, झाझरमारेमा सम्पन्न भएको हो।
कार्यक्रमले विद्यार्थी तथा समुदायमा मानवअधिकार, मानव बेचबिखनका जोखिम, त्यसको रोकथाम तथा पुनर्स्थापनासम्बन्धी ज्ञान अभिवृद्धि गरी सुरक्षित जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तम श्रेष्ठले बालबालिका तथा मानवअधिकारसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विषयमा विद्यालयमै सचेतनामूलक कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले पछाडि पारिएका वर्ग तथा समुदायको सशक्तीकरण, महिला, बालबालिका, दलित तथा अन्य व्यक्तिहरूका लागि कानुनी सचेतना, समानता, सामाजिक समावेशीकरण र बालअधिकार संरक्षणका लागि यस्ता कार्यक्रम फलदायी र उपयोगी हुने बताउनुभयो ।

प्रधानाध्यापक श्रेष्ठले मानवअधिकार संरक्षणको प्रमुख दायित्व राज्य र स्थानीय तहको भए पनि मानव अधिकारप्रति जिम्मेवार र जवाफदेही बन्नु सबैको साझा कर्तव्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सुविन गुरूङ, उमा पुर्जा, डेनियल शाही, सुरेन्द्र मगर, थमन दर्जी, जेनीसा खड्का, विशाल वादी तथा सूर्यबहादुर परियारले सहजीकरण गर्नुभएको थियो ।
मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपालका अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हाम्रो अभियान नेपालका प्रबन्धक सुविन गुरूङले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कृतिबहादुर अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ७, ८ र ९ का ११५ जना विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले मानव बेचबिखनका कारण, जोखिम, रोकथामका उपाय तथा सुरक्षित व्यवहारसम्बन्धी जानकारी प्राप्त गरेका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सचेतना वृद्धि गर्नुका साथै समुदायस्तरमा मानव बेचबिखन विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।