पोखरा । प्राविधिक शिक्षालाई रोजगारी, उद्यमशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दक्ष, सिर्जनशील तथा नैतिक जनशक्ति उत्पादन गर्नु संस्थाको मुख्य लक्ष्य रहेको गण्डकी बहुप्राविधिक शिक्षालयले जनाएको छ ।
शिक्षालाई भाग्य परिवर्तन गर्ने शक्तिशाली माध्यमका रूपमा व्याख्या गर्दै विद्यार्थीहरूलाई आफ्नो समय, ऊर्जा र क्षमतालाई सही दिशामा प्रयोग गर्न आग्रह गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित “सीप, संस्कार र सफलताको यात्रामा प्रतिबद्ध संस्था” गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराले शिक्षा, सीप, अनुशासन र सकारात्मक सोचको समन्वयमार्फत गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ दुईदिने अभिमुखीकरण तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।
शिक्षालयले २०८३ जेठ २८ गते शिक्षक तथा कर्मचारीहरूका लागि तथा २०८३ जेठ २९ गते नवप्रवेशी र अध्ययनरत विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा उत्प्रेरक प्रशिक्षक रमण भट्टराईले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई जीवन, शिक्षा, नेतृत्व, आत्मविश्वास, लक्ष्य निर्धारण, समय व्यवस्थापन र व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
उहाँले सफलता संयोग नभई निरन्तर अभ्यास, सही सोच, स्पष्ट लक्ष्य र दृढ सङ्कल्पको परिणाम भएको बताउनुभयो ।

शिक्षक तथा कर्मचारी लक्षित सत्रमा शिक्षण पेशाको गरिमा, शिक्षकको जिम्मेवारी, विद्यार्थीको भविष्य निर्माणमा शिक्षकको भूमिका तथा संस्थागत संस्कारका विषयमा विस्तृत छलफल भएको थियो ।
सहभागी शिक्षकहरूले बदलिँदो शैक्षिक परिवेशअनुसार आफूलाई अद्यावधिक गर्दै विद्यार्थीमैत्री शिक्षण पद्धति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
विद्यार्थी अभिमुखीकरण कार्यक्रममा अध्ययनसँगै जीवन व्यवस्थापन, करियर निर्माण, अनुशासन, नैतिकता तथा सकारात्मक दृष्टिकोणका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।
विद्यार्थीहरूलाई आफ्ना सपना पहिचान गरी त्यसलाई यथार्थमा परिणत गर्न निरन्तर प्रयासरत रहन प्रेरित गरिएको थियो ।
शिक्षालयका निर्देशक डा. टेकनारायण पौडेलले शिक्षाको वास्तविक अर्थ मानिसभित्र रहेका सम्भावनाहरूलाई उजागर गर्नु रहेको बताउनुभयो ।
उहाँले कुनै पनि विद्यार्थी असफल भएर नजन्मने उल्लेख गर्दै प्रत्येक विद्यार्थीभित्र अदृश्य शक्ति, सपना र उज्ज्वल भविष्य लुकेको हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले शिक्षण संस्थाको दायित्व विद्यार्थीको सम्भावनालाई चिन्ने, जागृत गराउने र सही दिशामा डोर्याउने रहेको बताउनुभयो ।
शिक्षकहरूको भूमिकाबारे चर्चा गर्दै उहाँले भन्नुभयो-“विद्यार्थीले वर्षौंपछि पढाइएका पाठहरू बिर्सन सक्छन्, तर शिक्षकले दिएको सम्मान, हौसला र प्रेरणा जीवनभर सम्झिरहन्छन् ।”
निर्देशक पौडेलले आगामी दिनमा पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, व्यक्तित्व निर्माण र शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा अन्तरक्रियात्मक छलफल, प्रेरणादायी अनुभवहरूको आदानप्रदान तथा जीवनोपयोगी सन्देशहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले यसबाट आफ्नो सोचमा सकारात्मक परिवर्तन आएको, लक्ष्यप्राप्तिका लागि थप स्पष्टता मिलेको तथा अध्ययन र पेसागत जीवनका लागि नयाँ ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।