मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

डिजिटल विस्तारसँगै परम्परागत मिडिया चुनौतीमा

पोखरा । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै परम्परागत सञ्चारमाध्यम दिनप्रतिदिन चुनौतीपूर्ण अवस्थामा पुगेका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना तथा प्रेस रजिस्ट्रारको कार्यालय र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को अमलटारी सामुदायिक होमस्टेमा जेठ २ र ३ गते सम्पन्न दुईदिने कार्यक्रमले यही निष्कर्ष निकालेको छ ।

“परम्परागत मिडियाको दिगोपना र सान्दर्भिकता” तथा “गाउँ पर्यटन प्रवर्धनमा सञ्चारकर्मीको भूमिका” विषयक कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मण बहादुर पाण्डे, प्रदेशसभा सदस्य बिन्दु पौडेल, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पूर्व अध्यक्ष विपुल पोखरेल लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा परम्परागत मिडियाको दिगोपना, सान्दर्भिकता तथा गाउँ पर्यटन प्रवर्धनमा सञ्चारकर्मीको भूमिकाबारे व्यापक छलफल भएको थियो ।

छलफलका क्रममा परम्परागत सञ्चारमाध्यमलाई डिजिटल युगसँग जोड्दै दिगोपना सुनिश्चित गर्नुपर्ने, गाउँ पर्यटन प्रवर्धनमा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनुपर्ने, स्थानीय सरकार, सञ्चार क्षेत्र र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्नुपर्ने तथा पत्रकारिताको गुणस्तर र क्षमता विकासमा निरन्तर ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।

सञ्चारविज्ञ डा. भूमिराज चापागाईंले ‘वर्तमान अवस्थामा परम्परागत सञ्चारमाध्यमको सान्दर्भिकता र दिगोपना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डिजिटल प्लेटफर्मको बढ्दो प्रभावबारे तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशमा सामाजिक सञ्जालबाट समाचार प्राप्त गर्नेहरूमध्ये ८२ प्रतिशतले फेसबुक प्रयोग गर्छन् भने ४९ प्रतिशतले युट्युबमार्फत समाचार हेर्छन् ।

त्यस्तै २१ प्रतिशतले ‘वर्ड अफ माउथ’ र १५ प्रतिशतले अनलाइन समाचार एप्स प्रयोग गर्छन् । जबकि टेलिभिजनबाट समाचार प्राप्त गर्ने १२ प्रतिशत र रेडियोबाट ९ प्रतिशत मात्र रहेका छन् ।

रिपोर्टअनुसार गण्डकीका मिडिया उपभोक्ताहरू राष्ट्रिय औसतभन्दा बढी सक्रिय रूपमा डिजिटल प्लेटफर्म प्रयोग गरिरहेका छन् ।

गण्डकी प्रदेशमा दैनिक करिब १० लाख प्रयोगकर्ता सामाजिक सञ्जालमा सक्रिय छन् भने करिब ८ लाख २१ हजारले युट्युब प्रयोग गर्ने गरेका छन् । टिकटक प्रयोगकर्ता सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ ।

मानिसहरूको सूचना उपभोग गर्ने शैलीमा परिवर्तनसँगै बैठक कोठाको स्वरूपसमेत फेरिँदै गएको अध्ययनले देखाएको छ ।

परम्परागत टेलिभिजनको प्रयोग घट्दै गएको छ भने स्मार्ट टेलिभिजन र इन्टरनेटमा आधारित भिडियो सामग्रीको प्रयोग बढिरहेको छ ।

गण्डकीमा टेलिभिजन हेर्ने घरधुरीमध्ये करिब ३५ प्रतिशतले इन्टरनेट भिडियो एपमार्फत सामग्री हेर्ने गरेका छन् भने ३४ प्रतिशतले युट्युब च्यानलमार्फत सामग्री हेर्ने गरेका छन् ।

रेडियो र पत्रपत्रिकाको पहुँच पनि खुम्चिँदै गएको तथ्याङ्कले देखाएको छ । गण्डकीमा दैनिक रूपमा रेडियो सुन्ने दर ९.९ प्रतिशत मात्र रहेको छ भने दैनिक पत्रपत्रिका पढ्नेको सङ्ख्या ३.४ प्रतिशत रहेको छ ।

कार्यपत्र प्रस्तुत गर्दै डा. चापागाईंले परम्परागत सञ्चारमाध्यम पुरानै शैलीमा अघि बढिरहे भविष्यमा केवल अभिलेखीय महत्वमा सीमित हुन सक्ने उल्लेख गर्नुभयो ।

उहाँले बजारको मागअनुसार सामग्रीलाई डिजिटल माध्यममार्फत फरक शैलीमा प्रस्तुत गर्नुपर्ने सुझाव दिँदै युट्युब र टिकटकजस्ता प्लेटफर्ममा प्रभावकारी उपस्थिति बढाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सचिव भवीश्वर पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव जमुना वर्षा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, महासङ्घका जिल्ला अध्यक्ष, पदाधिकारी, सदस्य तथा पत्रकारसहित ९० भन्दा बढीको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News