मानव आवाज

२०८३ असार १८ गते
00: 00: 00
२०८३ असार १८ गते

सामुदायिक विद्यालयमा शिक्षक पर्याप्त,  विद्यार्थीको आकर्षण न्यून

प‍ोखरा । विद्यालय, विद्यार्थी, शिक्षक, विद्यार्थी–शिक्षक अनुपात, प्राविधिक धारका विद्यालय तथा इसीडीसम्बन्धी राष्ट्रिय शैक्षिक तथ्याङ्क सार्वजनिक गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वयमा पत्रकार भेटघाट कार्यक्रम २०८३ असार १८ गते पोखरामा सम्पन्न भएको छ ।

केन्द्रका निर्देशक निमप्रकाश सिंहले सार्वजनिक गरेको शैक्षिक तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण न्यून र विद्यार्थी सङ्ख्या घट्दो अवस्थामा रहेको बताउनु भयो ।

उहाँका अनुसार विद्यालयमा उमेर समूहका बालबालिकाको सङ्ख्या घट्दै जाँदा विद्यालयमा विद्यार्थी भर्ना पनि निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ । यसले विशेषगरी सामुदायिक विद्यालय र प्राविधिक शिक्षालाई चुनौती थपेको उहाँले बताउनु भयो ।

निर्देशक सिंहका अनुसार कक्षा १ मा वार्षिक करिब ९ लाख विद्यार्थी भर्ना भए पनि कक्षा १० पुग्दासम्म त्यो सङ्ख्या करिब ३ लाखमा सीमित हुने अवस्था देखिएको छ ।

जनसङ्ख्या वृद्धिदरमा आएको कमी, बसाइँसराइ र जन्मदर घट्दै गएकाले आगामी वर्षहरूमा पनि विद्यार्थी सङ्ख्या बढ्ने सम्भावना नरहेको उहाँले उल्लेख गर्नु भयो ।

निर्देशक सिंहले सरकारको प्राथमिकतामा रहेको प्राविधिक धारको शिक्षामा समेत अपेक्षाअनुसार विद्यार्थी आकर्षित हुन नसकेको बताउनु भयो ।

देशभर सञ्चालनमा रहेका करिब ५ सय ६९ प्राविधिक धारका विद्यालयमध्ये करिब १ सय विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका उहाँले जानकारी दिनुभयो । बजेटको अभाव नभई विद्यार्थी अभाव नै मुख्य समस्या बनेको उहाँको भनाइ छ ।

केन्द्रका अनुसार नेपालभर ४२ हजार ६ सय १९ ओटा इसिडी केन्द्र तथा ३५ हजार ९ सय ५१ विद्यालय सञ्चालनमा छन् ।

तीमध्ये २७ हजार १० सामुदायिक, ८ हजार ९ सय ४१ संस्थागत (निजी) र १ हजार ३ सय ८७ धार्मिक विद्यालय रहेका छन् ।

देशभर इसिडीदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थी सङ्ख्या करिब १ करोड २२ लाख पुगेको तथ्याङ्कमा उल्लेख छ ।

आधारभूत तह (कक्षा १–८) मा ५३ लाख ७४ हजार २ सय ७२, कक्षा ९–१२ मा १६ लाख ६६ हजार ५ सय ५३ र कक्षा ११–१२ मा ६ लाख ९८ हजार १ सय २३ विद्यार्थी अध्ययनरत छन् ।

तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमा करिब १ लाख ५ हजार १ सय २२ शिक्षक कार्यरत छन् भने संस्थागत विद्यालयमा ४० हजार ६ सय ३१ शिक्षक छन् । आधारभूत तह (१–८) मा कुल २ लाख ५ हजार ४ सय ५ शिक्षक कार्यरत रहेको केन्द्रले जनाएको छ ।

विद्यार्थी–शिक्षक अनुपात हेर्दा आधारभूत तह (१–५) मा औसत २४ विद्यार्थी बराबर एक शिक्षक, आधारभूत (१–८) मा २६ विद्यार्थी बराबर एक शिक्षक तथा माध्यमिक तह (९–१२) मा २५ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्याङ्कले देखाएको छ । यसले शिक्षकको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गएको सङ्केत गर्ने निर्देशक सिंहको भनाइ छ ।

यसैबिच कक्षा १ मा नयाँ भर्ना भएका विद्यार्थीमध्ये ७७.५१ प्रतिशत ले इसिडी (बालविकास) अनुभव प्राप्त गरेको केन्द्रले जनाएको छ ।

देशभर कक्षा १ मा नयाँ भर्ना भएका ७ लाख ६५ हजार ९ सय २१ विद्यार्थीमध्ये ५ लाख ९३ हजार ६ सय ४१ ले इसिडी अनुभव हासिल गरेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य सामुदायिक विद्यालयको शैक्षिक वातावरणलाई थप सुधार गर्न र नियमित प्रशासनिक खर्च सञ्चालनका लागि अभिभावकहरूले केही थप दायित्व वहन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

​विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने रकमको व्यवस्थापन गर्दै शैक्षिक गुणस्तर उकास्न अभिभावकहरूको भूमिका महत्त्वपूर्ण रहने बताउँदै कुनै पनि गलत मनसाय नभई विद्यालयको भौतिक पूर्वाधार विकास र नियमित खर्च व्यवस्थापनका लागि विद्यालयले अभिभावकहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयलाई राम्रो बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नयाँ आर्थिक योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका निमित्त इकाइ प्रमुख टङ्कराज बरालले शिक्षा क्षेत्रका तथ्य र वास्तविक अवस्थालाई नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

बरालका अनुसार शिक्षा क्षेत्रका नीति, चुनौती र सुधारका प्रयासबारे तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News