पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले २०८३ साउन २७ गते पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘परिष्कृत युवा: सशक्त नेतृत्व’ विषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडकी युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन् ।
सेमिनारमा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने पोखरा जेसीजले जनाएको छ ।
यसै अवसरमा पोखरा जेसीजले ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा साहित्यिक कार्यक्रमसमेत आयोजना गर्ने भएको छ ।
कार्यक्रममा साहित्यकार बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन् ।
दुवै कार्यक्रम २०८३ साउन २७ गते (अगस्ट १२) पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा आयोजना हुनेछन् । कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ ।
युवाको क्षमता, नेतृत्व विकास र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पोखरा जेसीजले जनाएको छ ।