पोखरा । “जहाँबाट आतिथ्यको सुरूवात हुन्छ…” गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित होटल पौवा प्रा.लि.ले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा ‘वितायौँ बालापन’ भन्ने नारासहित तेस्रो पटक ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।
उक्त उत्सव २०८२ साल चैत २६ देखि २८ गतेसम्म होटल पौवाका देशभर रहेका १९ ओटा शाखामा एकैपटक सञ्चालन गरिनेछ ।
होटल पौवा पोखराका महाप्रबन्धक केशव भण्डारीका अनुसार, संस्थाको १०औं स्थापना दिवसलाई विशेष बनाउने उद्देश्यले सबै शाखामा एकसाथ स्वाद उत्सव आयोजना गर्न लागिएको हो ।
होटल पौवाले रुपन्देहीको भैरहवा र बुटवल, बाँकेको नेपालगञ्ज, कपिलवस्तुको गोरुसिङ्गे, चितवनको भरतपुर, दोलखाको कालिन्चोक, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, सुदूरपश्चिमको धनगढी, पर्यटकीय राजधानी पोखरा, सिन्धुलीको मुल्कोट तथा काठमाडौंको गौशालालगायत स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।
भण्डारीका अनुसार, नेपाली मौलिक स्वादलाई संस्कृतिसँग संयोजन गर्दै फरक स्वाद र आतिथ्य सत्कारको अनुपम अनुभव प्रदान गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो ।
उहाँले सबैलाई उक्त स्वादमय उत्सवमा सहभागी हुन आग्रह गर्नुभएको छ । उत्सवका स्टलहरू बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछन् ।
होटल पौवाले हाल करिब ७ सय युवायुवतीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको पनि उहाँले जानकारी दिनु भयो ।
उत्सवमार्फत आवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनि उपलब्ध गराउने उद्देश्य राखिएको छ । साथै, व्यवस्थित व्यवस्थापन र गुणस्तरीय सेवा प्रदान गर्दै यसलाई अवसरको रूपमा स्थापित गर्ने योजना रहेको बताइएको छ ।
भण्डारीका अनुसार, उत्सवले आधुनिक प्रविधि, दक्ष जनशक्ति र लगानीको प्रभावकारी उपयोगमार्फत नवीन अवधारणाहरू व्यवहारमा उतार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसका साथै, लक्जरी पर्यटनलाई विदेशी पाहुनासम्म मात्र सीमित नराखी आन्तरिक पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ । उत्सवमा करिब १ लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रूपमा सेवा लिने अपेक्षा गरिएको छ ।