पोखरा । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) का केन्द्रीय अध्यक्ष अर्जुन गिरीले बदलिँदो डिजिटल युगमा सामुदायिक रेडियोलाई प्रविधिमैत्री बनाउँदै डिजिटल प्लेटफर्मसँग एकाकार हुनुपर्ने बताउनुभएको छ ।
उहाँले नीति, प्रविधि, क्षमता विकास, आत्मनिर्भरता र सामुदायिक सहभागितालाई सुदृढ बनाउँदै रेडियोको प्रभावकारिता थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) गण्डकी प्रदेशको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा ‘डिजिटल युगमा रेडियो : सामग्री निर्माण, ब्रान्डिङ र कार्यक्रम प्रसारणमा प्रविधि’ विषयक दुईदिने तालिम २०८३ असार १३ र १४ गते पोखरा महानगरपालिका-१८, सराङकोटमा जारी छ ।
असार १३ गते तालिम उद्घाटन गर्दै प्रमुख अतिथि तथा अकोराबका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले विश्व प्रविधिको तीव्र विकाससँगै सामुदायिक रेडियोले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले तीन दशकको सामुदायिक रेडियो आन्दोलनले अनेक चुनौती सामना गरेको स्मरण गर्दै स्थानीय तहले सञ्चारसम्बन्धी कानुनमार्फत रेडियोलाई स्वीकार गरे पनि सङ्घीय सरकारबाट अझै स्पष्ट नीति नआएको गुनासो गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले सञ्चार कानुन निर्माणमा देखाएको अग्रसरताको भने उहाँले प्रशंसा गर्नुभएको छ ।
विशेष अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्चार क्षेत्रमा आएको प्रविधिगत परिवर्तनसँगै पत्रकारले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
मोबाइल पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले रेडियोलगायत परम्परागत सञ्चार माध्यमले पनि नयाँ ढङ्गबाट सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले गण्डकी प्रदेश सरकारले आगामी वर्ष पनि सञ्चार क्षेत्रको स्तरोन्नतिका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै महिला सञ्चार उद्यमलाई प्रोत्साहन गर्न महिला मिडिया स्टार्टअप कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
तालिमका प्रशिक्षक तथा नेपाल पत्रकार महासङ्घका पूर्व उपसभापति गङ्गाधर पराजुलीले नेपालमा सञ्चार माध्यमको अवस्था र डिजिटल रूपान्तरणका चुनौतीबारे प्रस्तुति दिनुभएको थियो ।
उहाँका अनुसार हाल देशभर ५ हजार १ सय ४४ अनलाइन न्युज पोर्टल, १ हजार २ सय ४ एफएम रेडियो र ३ सय ८९ सामुदायिक रेडियो सञ्चालनमा छन् ।
अर्का प्रशिक्षक पत्रकार सुनिल पाण्डेले समाचारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, कन्टेन्ट क्रिएसन तथा रेडियोको डिजिटल ब्रान्डिङबारे सहजीकरण गर्नुभएको छ ।
कार्यक्रममा अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सदस्य नवीन पौडेल तथा पूर्व वरिष्ठ उपाध्यक्ष किशोरजङ्ग थापाले डिजिटल युगमा रेडियो केवल आवाजको माध्यम नभई बहुआयामिक सञ्चार प्लेटफर्मका रूपमा विकसित भइरहेको बताउनुभयो ।
अकोराब गण्डकी प्रदेशका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य र सचिव मोतीसागर अधिकारीले सञ्चालन गर्नुभएको थियो । तालिममा गण्डकी प्रदेशका ४० जना सामुदायिक रेडियोकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ ।