पोखरा । अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएको केही दिनमै दुई नेपाली विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका छन् ।
एरिज पोखरेल र निशान खत्रीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय दुवै तहका प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा र वर्षौँदेखिको तयारी प्रमाणित गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालको प्रतिनिधित्व गर्नुभएका एरिज र निसानले चीनमा करिब एक महिना गणितीय प्रशिक्षण, समस्या समाधान, अभ्यास र प्रतियोगिताको तयारीमा बिताउनुभएको थियो ।
चीनको साङ्घाईमा सम्पन्न ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालले कुल ५७ अङ्क प्राप्त गर्दै अघिल्लो ४६ अङ्कको राष्ट्रिय कीर्तिमान तोडेको थियो । नेपाल ८४औँ स्थानमा रहँदा करिब ३३ देशलाई पछि पार्न सफल भएको थियो ।
नेपालको ६ सदस्यीय टोलीमा प्रसिद्ध थापाले १२, निशान खत्रीले १२, आयाम आचार्यले १०, एरिज पोखरेलले ९, युगान्तर कालाखेतीले ९ र मिसन जोशीले ५ अङ्क प्राप्त गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय गणित ओलम्पियाडको तयारी र प्रतियोगितामा व्यस्त रहेका बेला एरिज र निशानले स्वदेश फर्किएपछि पनि अर्को चुनौतीपूर्ण प्रतिस्पर्धाको सामना गर्नुपरेको थियो ।
आईओई प्रवेश परीक्षाको तयारीका लागि अन्य विद्यार्थीले पर्याप्त समय पाएका अवस्थामा उनीहरू भने अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी तथा नेपालको प्रतिनिधित्वका लागि चीनमा थिए ।
विद्यार्थी तथा सम्बन्धित पक्षको मागपछि परीक्षा तालिकामा केही परिवर्तन भए पनि उनीहरूको तयारी अवधि तुलनात्मक रूपमा सीमित रह्यो ।
चार दिनमै अर्को परीक्षा, एरिज पाँचौँ
एरिज पोखरेलको पछिल्लो उपलब्धि विशेष उल्लेखनीय देखिएको छ । साङ्घाईमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ सम्पन्न गरी नेपाल फर्किएको चार दिनमै उहाँले काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ प्रवेश परीक्षा दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको मानसिक दबाब, लामो यात्रा र थकानपछि छोटो समयमै अर्को प्रतिस्पर्धात्मक परीक्षामा सहभागी भए पनि उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभयो ।
एरिजले काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ प्रवेश परीक्षामापाँचौँ स्थान हासिल गर्नुभयो । त्यसपछि उहाँले आईओई प्रवेश परीक्षा २०८३ मा २४औँ स्थान हासिल गर्नुभएको छ ।
यसअघि विद्यालय तहदेखि नै गणितलगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका एरिजले कक्षा १० सम्मको शिक्षा न्यू मोडल सेकेन्डरी स्कुल, पोखराबाट तथा कक्षा ११-१२ को शिक्षा एसओएस हर्मन माइनर स्कुल गण्डकी, पोखराबाट पूरा गर्नुभएको हो ।
उहाँको लगातारको उपलब्धिले अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा हासिल गरेको ज्ञान, विश्लेषणात्मक क्षमता र समस्या समाधान गर्ने सीपलाई छोटो अवधिको परीक्षाको तयारीभन्दा फराकिलो रूपमा बुझ्नुपर्ने देखाएको छ ।
निशानको पनि निरन्तर उत्कृष्टता
निशान खत्रीले पनि अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालका लागि १२ अङ्क प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभयो । त्यसपछि उहाँले आईओई प्रवेश परीक्षा २०८३ मा ४०औँ स्थान हासिल गर्नुभएको छ ।
कक्षा ११-१२ को शिक्षा काठमाडौंको केएमसीबाट पूरा गर्नुभएका निशान विद्यालय तहदेखि नै गणितमा अब्बल विद्यार्थीका रूपमा परिचित हुनुहुन्थ्यो ।
विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उहाँले अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने लक्ष्यसमेत पूरा गरेका छन् ।
अन्तर्राष्ट्रिय गणित ओलम्पियाडको तयारीमा महत्वपूर्ण समय खर्चिए पनि निसानले आईओई प्रवेश परीक्षाका लागि अन्य विद्यार्थीसरह लामो समय छुट्याएर तयारी गर्ने अवसर पाउनुभएन ।
तर, वर्षौँदेखिको गणितीय अभ्यास, बलियो आधार र समस्या समाधान गर्ने क्षमताले उहाँलाई प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्न सहयोग गरेको छ ।
वर्षौँको मेहनतको परिणाम
एरिज र निशानको पछिल्लो सफलता कुनै आकस्मिक उपलब्धि नभएको उहाँहरूको शैक्षिक यात्राले देखाउँछ ।
विद्यालय तहदेखि नै निरन्तर अभ्यास, गणितीय सोच, अनुशासन, जिज्ञासा र सिक्ने इच्छाले उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाएको हो ।
अन्तर्राष्ट्रिय गणित ओलम्पियाड, काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ प्रवेश परीक्षा र आईओई प्रवेश परीक्षामा प्राप्त उपलब्धिले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ-गहिरो ज्ञान र दीर्घकालीन सिकाइले विद्यार्थीलाई फरकफरक प्रकृतिका कठिन परीक्षामा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाउँछ ।
नेपालका लागि प्रेरणादायी उपलब्धि
नेपालको गणितीय यात्रामा अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ को ५७ अङ्क र ८४औँ स्थान महत्वपूर्ण उपलब्धिका रूपमा दर्ज भएको छ । यस सफलतामा नेपालको ६ सदस्यीय टोलीका प्रत्येक सदस्यको योगदान रहेको छ ।
प्रसिद्ध थापा, निशान खत्री, आयाम आचार्य, एरिज पोखरेल, युगान्तर कालाखेती र मिसन जोशी सम्मिलित टोलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रदर्शन गरेको हो ।
एरिज पोखरेल र निशान खत्रीको पछिल्लो उपलब्धिले भने अन्तर्राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय प्रवेश परीक्षाबिचको छोटो समयमै पनि नेपाली विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।