पोखरा । गुप्तेश्वर महादेव गुफा नजिकै अवस्थित डेभिजफल क्लब, पोखरा-१७ छोरेपाटनको १४औं साधारणसभा तथा ११औं अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि दिपक सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा पोखरा-१७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले युवाशक्तिलाई सृजनशील उत्पादनसँग जोड्दै मर्यादित रोजगारी सिर्जना गर्ने अभियानलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले युवाहरूले घरघरमा पुगेर नागरिकका आवश्यकता बुझ्दै योजनाबद्ध र दिगो विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
जनताको कर जनताकै हितमा पारदर्शी रूपमा प्रयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले युवा, महिला तथा पछाडि पारिएका वर्गको सशक्तीकरणमा आफू केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लबका सल्लाहकार झपिन्द्रराज रेग्मीले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत चेतनामूलक कार्यक्रम, छात्रवृत्ति अक्षय कोष, खेलकुद गतिविधि, रक्तदान, सरसफाइ तथा वृक्षारोपणजस्ता काममा सक्रिय भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
अध्यक्ष विनम गुरुङले २०५५ सालमा स्थापना भएको क्लब सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएको र जनविश्वास जित्न सफल भएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष दिपक सुबेदीले ‘सामाजिक सेवा र युवा सामर्थ्य’ लाई मूल मन्त्र बनाउँदै क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले डिजिटल सूचना प्रणाली व्यवस्थापन, खेलकुद तथा नेतृत्व विकास कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, सूचना प्रवाह सुदृढीकरण, पर्यटन प्रवर्धन, पार्क निर्माण, पार्किङ व्यवस्थापन तथा फ्री वाइफाइ विस्तारजस्ता योजनालाई आगामी कार्यकालमा प्राथमिकतामा राखिने जानकारी दिए ।

कार्यक्रममा श्रीराम सुवेदी, युवक लामिछाने, रविन गुरुङ, गौतम श्रेष्ठ, सागर अधिकारी र तुल्सीराम बराललगायतले शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा महासचिव दिपक सुबेदीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम प्रस्तुत गरे भने कोषाध्यक्ष अनिलकुमार प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको सचिव गणेश जिसीले जानकारी दिनुभयो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा शिविर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा वेदबहादुर थापा, सचिवमा गणेश जिसी, कोषाध्यक्षमा शिवम् शाही ठकुरी र सहसचिवमा शर्मिला थकाली चयन भएका छन् भने सदस्यहरूमा सौरभ मरासिनी, दिपेन्द्र सुवेदी, विष्णु पौडेल, वेदनाथ अधिकारी र प्रदीप गुरुङ रहनुभएको छ ।
यसै अवसरमा “जेन्जी आन्दोलन-२०८२” का क्रममा क्षति पुगेको छोरेपाटन प्रहरी चौकीको मर्मत तथा पुनः सञ्चालनमा सहयोग गर्ने ८२ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष विनम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य महासचिव दिपक सुबेदीले र सञ्चालन सचिव गणेश जिसीले गर्नुभएको थियो ।