पोखरा । ११ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील पोखरा महानगरपालिका–६ मा रहेको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तर्जुमा एवम् रणनीतिक योजनासम्बन्धी प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यशाला गोष्ठी २०८३ असार २७ गते कास्कीको मादी गाउँपालिका–३, याङ्जाकोटमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर थापाले स्थापनाकालदेखि नै दुर्गम तथा पछाडि पारिएका क्षेत्रका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यका साथ संस्था २०७२ सालदेखि सक्रिय रूपमा कार्यरत रहेको बताउनुभयो ।
उहाँले स्थानीयस्तरमा शैक्षिक संस्थाको आवश्यकता महसुस भएपछि संस्थाको अग्रसरता तथा स्थानीय अभिभावक, बुद्धिजीवी र समुदायको सक्रिय सहभागितामा संस्था स्थापना गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले संस्थाको व्यावसायिक योजना, विकासका सम्भावना, अवसर, चुनौती तथा दीर्घकालीन रणनीतिक योजनाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले संस्थाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा सामुदायिक क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै समाजको समग्र विकासका लागि निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
आगामी रणनीतिक योजनामा समसामयिक, प्रभावकारी तथा दिगो रूपमा कार्यान्वयन गर्न सकिने कार्यक्रमहरू समावेश गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी संस्थाका पदाधिकारीहरूले आगामी दिनमा सञ्चालन गरिने परियोजना तथा कार्यक्रमबारे आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल, मादी हाइड्रोपावर सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन मानन्धरले संस्थाले शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले ग्रामीण बस्ती तथा टोल–टोलमा पुगेर सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य अधिकारसम्बन्धी गतिविधिहरू प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम कर्मफ्लाइट्स फाउण्डेशन नेपालकी अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य तथा उद्देश्यबारे पूर्वअध्यक्ष एवम् कार्यक्रम संयोजक भूपालसिंह गुरुङले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कुलप्रसाद अधिकारीले गर्नुभएको थियो ।
संस्थाको कार्यक्षेत्र गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, गोर्खा, स्याङ्जा, पर्वत र बागलुङ रहेको छ । त्यसैगरी लुम्बिनी प्रदेशका गुल्मी र रूकुम पूर्व र कर्णाली प्रदेशका रूकुम पश्चिम, जाजरकोट, डोल्पा र हुम्ला रहेका छन् ।