मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

विद्यालयमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला उद्घाटन

पोखरा ।कर्मफ्लाइट्स फाउन्डेशन नेपाल, पोखरा र वार्म नेस्ट फाउन्डेशनको संयुक्त आयोजनामा भद्रकाली माध्यमिक विद्यालय, बाह्रबिसे नगरपालिका–८, सिन्धुपाल्चोकमा २१ वटा कम्प्युटर कार्यस्थलसहितको अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कम्प्युटर प्रयोगशाला उद्घाटन तथा हस्तान्तरण गरिएको छ । कार्यक्रम २०८३ वैशाख २५ गते विशेष समारोहबिच सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका पूर्व सदस्य रमेश पौड्यालले आफ्नो अध्ययनकालका कठिन दिन सम्झँदै सूचना प्रविधिमार्फत विद्यालयले शैक्षिक रूपान्तरणतर्फ फड्को मारेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले अबको समय कम्प्युटर साक्षरताको युग भएको उल्लेख गर्दै ग्रामीण विद्यालयहरू सूचना प्रविधि पूर्वाधारको अभावका कारण पछाडि परेको बताउनुभयो ।

नवस्थापित कम्प्युटर प्रयोगशालाले दुर्गम क्षेत्रका विद्यार्थीलाई विश्वसँग जोड्ने “आँखीझ्याल” का रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालय र स्रोतसाधन सम्पन्न विद्यालयबीचको दूरी घटाउन यस्ता प्रयोगशाला महत्वपूर्ण हुने बताउँदै शिक्षकहरूले आफ्ना डिजिटल सीप अद्यावधिक गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै विद्यालयलाई स्थानीय समुदाय र अभिभावकका लागि समेत कम्प्युटर कक्षा सञ्चालन गर्न सुझाव दिनुभयो ।

एडुटेक नेपालका प्रमुख अशोक डल्लीले विद्यालयलाई बधाई दिँदै न्यूजिल्याण्डका समाजसेवी दम्पती माइक तथा चेरिल चिसोल्मको सहयोगमा देशभर यस्ता सयौँ प्रयोगशाला स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले यो अभियान बागलुङको बुर्तिबाङबाट सुरु भएको बताउनुभयो ।

कार्यक्रममा आइटी अधिकृत सुबास पौडेलले “थिन क्लाइन्ट नेटवर्किङ प्रणाली” सम्बन्धी प्रस्तुति दिँदै प्रयोगशालालाई डिजिटल ई–पुस्तकालयका रूपमा समेत प्रयोग गर्न सकिने जानकारी दिनुभयो ।

कर्मफ्लाइट्स फाउन्डेशन पोखराका कार्यकारी निर्देशक प्रेमबहादुर कुँवरले वार्म नेस्ट फाउन्डेशनको सहयोगमा सिन्धुपाल्चोक, कास्की, कर्णाली, बागलुङ तथा अर्नाकोट क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग भइरहेको बताउनुभयो ।

वडा नं. ८ का अध्यक्ष बिमल पौड्यालले विद्यालयमा सूचना प्रविधि सुविधा विस्तार भएकोमा खुशी व्यक्त गर्दै आगामी असारदेखि विद्यालयमा एक जना कम्प्युटर शिक्षकको व्यवस्था गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा शैक्षिक सत्र २०८२/८३ का प्रत्येक कक्षाका उत्कृष्ट तीन विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै साझेदार संस्थाहरूलाई प्रशंसापत्रसमेत प्रदान गरेको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवालाहरू, शिक्षक, विद्यार्थी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप उल्लासमय बनाएका थिए ।

Author

Related News