पोखरा । संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको अधिकारलाई कागजमा मात्र सीमित नराखी व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाले जोड दिएका छन् ।
चिल्ड्रेन नेपाल कास्कीको आयोजना तथा जर्मन नेपाल सहयोग सङ्घको सहयोगमा २०८३ असार १५ गते पोखरामा आयोजित ‘अनिवार्य तथा निःशुल्क शिक्षा : संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था र वर्तमान अवस्था’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले विद्यालय तहमा अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयनमा देखिएका चुनौती, अवसर, स्थानीय सरकार, विद्यालय, अभिभावक तथा समुदायको भूमिकाबारे छलफल गरेका हुन् ।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संविधानले प्रत्याभूत गरेको प्रत्येक बालबालिकाको शिक्षाको अधिकारलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संवैधानिक, नीतिगत तथा कानुनी व्यवस्थाबारे साझा बुझाइ विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले नीति र व्यवहारबिचको दूरी घटाउँदै कार्यान्वयनका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे सरोकारवालाबिच खुला संवाद र अनुभव आदानप्रदानले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकार, विद्यालय, विद्यालय व्यवस्थापन समिति, अभिभावक र समुदायबिचको समन्वय तथा सहकार्य सुदृढ गर्दै कुनै पनि बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुन नदिने वातावरण निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सहजीकरण गर्दै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी संवैधानिक व्यवस्था, प्रचलित कानुन, नीतिगत प्रावधान, स्थानीय सरकारको भूमिका तथा हालको कार्यान्वयन अवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रमका समन्वय संस्थाका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईंले शिक्षाको अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको साझेदारी अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
छलफलमा श्रीराम आधारभूत विद्यालयका प्रधानाध्यापक कल्पना रेग्मी, छोरेपाटन माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसाल तथा नवप्रभात माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश सिग्देलले कार्यक्रम उपलब्धिमूलक र सिकाइमूलक रहेको बताउँदै यस्ता अन्तरसंवाद विद्यालय तहमा मात्र सीमित नराखी शिक्षा नीति निर्माण तथा निर्णय गर्ने निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालालाई समेत लक्षित गरी सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका अन्तर्गतका १२ सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक गरी ३५ जनाको सहभागिता रहेको थियो ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत रमेश सुवेदीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन कार्यक्रम संयोजक सुजाता गैरले गर्नुभएको थियो ।