पोखरा । अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान, अधिकार र उनीहरूले भोगिरहेका सामाजिक चुनौतीबारे सचेतना अभिवृद्धि गर्दै समाजमा विद्यमान विभेद अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
क्याम्पेन फर चेन्जको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ नेपाल (गैसस) कास्की शाखाको समन्वयमा पोखरा महानगरपालिका अन्तर्गतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र वडा नं. १७ का जनप्रतिनिधिहरूबिच अन्तरलिङ्गी व्यक्तिहरूबारे जानकारीमूलक कार्यक्रम २०८३ जेठ २२ गते पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–१७ की वडा अध्यक्ष राधिकाकुमारी शाहीले समाजमा अझै पनि विद्यमान गलत बुझाइ, विभेद र बहिष्करणका कारण अन्तरलिङ्गी व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितामा समस्या भोगिरहेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि तथा सरोकारवालाहरूले अन्तरलिङ्गी समुदायप्रति सकारात्मक सोच विकास गर्दै समावेशी नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो ।
वडा कार्यालय नागरिकको दैलोको सरकार भएकाले लक्षित समुदायका लागि आवश्यक कार्यक्रमहरूमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
क्याम्पेन फर चेन्ज नेपाल, गण्डकी प्रदेश पोखराका फिल्ड अफिसर कमल कार्कीले अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका लागि सन् २०१७ मा स्थापना भएको संस्थाले उनीहरूको मानव अधिकार प्रवर्द्धनका लागि काम गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तरलिङ्गी व्यक्तिहरूको अवस्था, पहिचान तथा उनीहरूले भोगिरहेका सामाजिक चुनौतीबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म उनीहरूको अधिकारका लागि पैरवी गर्दै आएको उल्लेख गर्नुभयो ।
अन्तरलिङ्गी व्यक्तिहरूलाई जन्मजात यौन विशेषतामा देखिने विविधता (जस्तै यौनाङ्ग, प्रजनन अङ्ग, क्रोमोजोम तथा हर्मोन) का आधारमा परिभाषित गरिन्छ, जुन परम्परागत पुरुष वा महिला वर्गीकरणमा पूर्ण रूपमा मेल नखाने अवस्था हो ।
उहाँका अनुसार अन्तरलिङ्गी व्यक्तिहरूको सङ्ख्या करिब २ प्रतिशत रहेको अनुमान छ । यी विविधता जन्मँदै, बाल्यकाल, किशोरावस्था वा कहिलेकाहीँ वयस्क अवस्थामा पनि पत्ता लाग्न सक्छन् भने केही अवस्थामा जीवनभर पनि थाहा नहुन सक्छ ।
अन्तरलिङ्गी, पारलिङ्गी र तेस्रो लिङ्गी फरक अवधारणा भएकाले यसबारे स्पष्ट बुझाइ आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गैससका निवर्तमान केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले मानव अधिकार, सम्मानजनक जीवनयापन र समान अवसर सुनिश्चित गर्न स्थानीय सरकार, सरकारी निकाय तथा नागरिक समाजबिच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँले अन्तरलिङ्गी व्यक्तिहरूको मुद्दा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, बाल अधिकार र अपाङ्गता अधिकारसँग पनि सम्बन्धित भएकाले राज्यका तीनै तहबाट सकारात्मक पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्यद्वय विक्रम गुरुङ र विष्णुकुमारी थापा, गैसस कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, चिल्ड्रेन नेपालका कार्यक्रम निर्देशक शिव शर्मा चापागाईं, गैसस कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, मर्दीखोला शैक्षिक विकास प्रतिष्ठानका प्रमुख डिल्लीराम गिरी, तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेल लगायतले अन्तरलिङ्गी व्यक्तिहरूबारे सकारात्मक जानकारी फैलाउन र उनीहरूको दृश्यता बढाउनुपर्नेमा जोड दिनुभयो ।
उनीहरूले सामाजिक विभेद, अन्धविश्वास, लाञ्छना र पूर्वाग्रह हटाउन सचेतना कार्यक्रम समुदाय स्तरसम्म लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।