मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

“सामाजिक संस्था राज्यका सहयोगी हुन्”-महानगर प्रमुख आचार्य

कोपिला नेपालको २५ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न, मुना सिलवाल अध्यक्षमा निर्वाचित

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक संस्था र नागरिक समाजलाई राज्यका सहयोगी अङ्गका रूपमा सम्बोधन गर्दै समाज रूपान्तरणका लागि समन्वय र सहकार्यमा जोड दिनुभएको छ ।

“पछिल्लो समय नागरिक समाजको भूमिका केही निष्क्रिय बन्दै गएको छ, तर कोपिला नेपालले पछाडि पारिएका समुदायलाई सेवा र सचेतना प्रदान गर्दै उदाहरण प्रस्तुत गरेको छ,” उहाँले भन्नु भयो ।

साथै, महिला सशक्तीकरण, आय–आर्जन र नेतृत्व विकासका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिनु भयो ।

“कसैलाई पनि पछाडि नपारौँ” भन्ने नारा सहित स्थापित सामाजिक संस्था कोपिला नेपालको २५औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशन २०८२ असोज २७ गते पोखरामा सम्पन्न भएको हो।

कार्यकारी निर्देशक विना सिलवालले संस्थाले स्थापना कालदेखि नै गण्डकी प्रदेशका नौ जिल्ला कास्की, तनहुँ, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, म्याग्दी, पर्वत र बागलुङमा बालबालिका, महिला तथा मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

संस्थाले ग्रामीण समुदायका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पछाडि परेका वर्गका पक्षमा निरन्तर काम गर्दै आएको जानकारी दिनु भयो ।

साधारण सभामा महासचिव रमा घिमिरे पौडेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष तेजनारायण पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको संस्थापक अध्यक्ष तिर्थबहादुर थापाले जानकारी दिनु भयो ।

कोपिला नेपालले स्थापना कालदेखि सञ्चालन गर्दै आएका प्रमुख कार्यहरू

१) समूह गठन र सञ्चालन
२) तालिम तथा सचेतनाद्वारा क्षमता अभिवृद्धि
३) मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्य
४) जीविकोपार्जन सहयोग
५) संरक्षण र सामाजिक पुनःस्थापना
६) वकालत तथा पैरवी रहेका छन्।

आर्थिक वर्ष २०८१/८२ मा संस्थाका कार्यक्रमहरूबाट ५,८३६ जना सेवाग्राही लाभान्वित भएका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधवप्रसाद बराल, शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक घनश्याम पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, सामाजिक विकास मन्त्रालयकी शाखा प्रमुख मुना अधिकारी, प्रदेश स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, गैसस कास्कीकी अध्यक्ष इन्द्रिरा पौडेल र रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनबाट आगामी दुई वर्षका लागि मुना सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमिति

  • अध्यक्ष: मुना सिलवाल
  • उपाध्यक्ष: रमा घिमिरे पौडेल
  • महासचिव: सावित्री भट्टराई
  • सचिव: अनिषा नेपाली
  • कोषाध्यक्ष: तेजनारायण पराजुली
  • सदस्यहरू: शोभा पौडेल, रसिला नेपाली, प्रमिला जोशी श्रेष्ठ, राजेन्द्रबाबु कार्की ।

निर्वाचन अधिकृत अधिवक्ता मदन तिवारीले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रम कोपिला नेपालकी अध्यक्ष लक्ष्मी शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । महासचिव रमा घिमिरे पौडेलले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव अनिषा नेपालीले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News