मानव आवाज

२०८३ जेष्ठ २० गते
00: 00: 00
२०८३ जेष्ठ २० गते

कास्की एकल महिला समूहको अध्यक्षमा श्रेष्ठ निर्विरोध

पोखरा । “समानतालाई अगाडि बढाउँदै” भन्ने नारासहित एकल (विधवा) महिलाहरूको हक-अधिकार, सशक्तीकरण तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील मानव अधिकारका लागि महिला, एकल महिला समूह कास्कीको चौथो साधारणसभा तथा पहिलो अधिवेशनबाट विष्णु श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

२०८३ जेठ १९ गते सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा सकुन्तला केसी, सचिवमा रुपकला गुरुङ र कोषाध्यक्षमा सुशीला तिवारी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा सरस्वती कार्की, रिना शर्मा रेग्मी, तारा परियार, कल्पनाकुमारी अधिकारी पौडेल, लक्ष्मी अधिकारी पौडेल तथा सुशीला घिमिरे चयन भएको निर्वाचन संयोजक सरिता तिम्सिना पङ्गेनीले जानकारी दिनुभयो ।

साधारणसभा तथा अधिवेशनमा सचिव विष्णु श्रेष्ठले संस्थाको वार्षिक प्रगति तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मनमाया नेपालीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

दुवै प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गरिएको कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जुना केसीले विभिन्न कारणले एकल जीवन बिताइरहेका महिलाहरूलाई सङ्गठित गर्दै समयसापेक्ष कार्यक्रममार्फत सशक्तीकरण, आयआर्जन, सचेतना अभिवृद्धि तथा आत्मनिर्भरता प्रवर्धनका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष विष्णु श्रेष्ठले संस्थाले आफूलाई दिएको जिम्मेवारीलाई सामूहिक भावना र प्रतिबद्धताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले एकल महिलाहरूको अधिकार, सम्मान र सशक्तीकरणका लागि संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने बताउनुभयो ।

Author

Related News