मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

शान्ति निकेतन स्कूलमा नयाँ व्यवस्थापन, संस्कृत र चिनियाँ भाषा पढाइ हुने

पोखरा । पोखरा महानगरपालिका-५ स्थित शान्ति निकेतन स्कूल ले नयाँ व्यवस्थापनसहित अत्याधुनिक, प्रविधियुक्त तथा अपाङ्गतामैत्री भवनबाट कक्षा ११ र १२ सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

विद्यालयले २०८२ चैत ११ गते आयोजित पत्रकार सम्मेलनमार्फत आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनसहित पठनपाठन सञ्चालन गर्ने तथा भावी योजनाबारे जानकारी गराएको हो ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले पोखराकै अर्को उत्कृष्ट विद्यालय प्रतिभा माध्यमिक विद्यालय सँग सहकार्य गरी अघि बढ्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार दुवै विद्यालय आआफ्नै मोडालिटीमा सञ्चालन भइरहे पनि व्यवस्थापकीय तथा शैक्षिक पक्षमा सहकार्य गरिनेछ ।

सहलगानी, शिक्षकबीच अनुभव आदानप्रदान तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा संयुक्त प्रयास गरिने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रतिभा माविका सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले दुई विद्यालयबीच गाभिने होइन, सहकार्यको मोडेलमा अघि बढ्ने स्पष्ट पार्नु भयो ।

‘अब हामी आफैँमा प्रतिस्पर्धा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढ्नेछौँ ।’-उहाँले भन्नु भयो ।

२०६२ सालमा स्थापना भएको विद्यालयले २० वर्षको शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको प्राचार्य पराजुलीले बताउनु भयो ।

स्थानीय तथा राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले एसइईमा पटकपटक जिल्लामा उत्कृष्ट स्थानसहित ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी उत्पादन गरेको उहाँको भनाइ थियो ।

पोखरा-५, एकलधारा मार्गमा अवस्थित विद्यालयले करिब १५ करोड रुपियाँ लागतमा धारापानी मार्गमा अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिरहेको छ ।

करिब ६० करोड रुपियाँ मूल्य बराबरको जग्गामा निर्माण भइरहेको भवन एक वर्षभित्रै सम्पन्न हुने अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

विद्यालयले लिफ्टसहित अपाङ्गतामैत्री संरचना, अण्डरग्राउण्ड पार्किङ, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट अभ्यास नेट, स्वच्छ क्यान्टिन, ३ सय क्षमताको श्रव्यदृश्य कक्ष, अत्याधुनिक आईसीटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय जस्ता सुविधाहरू विस्तार गर्ने जनाएको छ । शिक्षण पद्धतिलाई अनुसन्धानमूलक र खोजमा आधारित बनाइने लक्ष्य लिइएको छ ।

स्मार्ट कक्षा, डिजिटल उपकरण, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, विश्वस्तरीय डिजिटल पुस्तकालयमार्फत सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया अपनाइने प्राचार्य पराजुलीले बताउनु भयो ।

आगामी शैक्षिक सत्रदेखि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद, नेतृत्व विकास, नृत्य, कला, सङ्गीत, नाटक, योगा तथा संस्कृत र चिनियाँ भाषाको पढाइलाई प्रभावकारी बनाइनेछ । विद्यालयलाई ‘डिजी स्कूल’ का रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।

निकट भविष्यमा प्राविधिक धारतर्फ स्नातक तह सञ्चालन गर्ने योजना रहेको र यसका लागि अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थासँग सहकार्य गरिने विद्यालयले जनाएको छ ।

विद्यालयले आफ्नो गौरवमय इतिहासलाई निरन्तरता दिँदै समावेशी र समतामूलक समाज निर्माणका लागि विद्यार्थी–केन्द्रित शिक्षा प्रणालीमा जोड दिने जनाएको छ ।

प्राचार्य पराजुलीका अनुसार विद्यालयले पाठ्यक्रम र परीक्षामा मात्र सीमित नभई नैतिकता, मानवता, संस्कार तथा जीवनोपयोगी शिक्षामा विशेष ध्यान दिनेछ ।

‘विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम, आत्मनिर्भर र विश्व बजारमा प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’-उहाँले भन्नुभयो ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष कृष्णमणि भुत्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सल्लाहकार पुरुषोत्तम पराजुलीले गर्नुभएको थियो ।

Author

Related News