पोखरा । शक्ति ग्यास प्रा.लि.ले आफ्ना अधिकृत विक्रेताहरूलाई एलपी ग्यास बिक्री-वितरणको यथार्थ तथा प्रमाणित विवरण कम्पनीमा पेस गर्न आग्रह गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मेघराज पौडेलले भदौ २३ गते जारी गरेको सूचनामार्फत नेपाल आयल निगम लिमिटेड तथा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट प्राप्त निर्देशनअनुसार अधिकृत विक्रेताहरूबाट विवरण माग गरिएको जनाइएको छ ।
सूचनाअनुसार अधिकृत विक्रेताहरूले २०८३ साउन १ गतेदेखि भदौ २२ गतेसम्म बिक्री-वितरण गरेको एलपी ग्यासको विवरण कम्पनीमा उपलब्ध गराउनुपर्नेछ ।
उक्त अवधिमा ग्यास खरिद गर्ने उपभोक्ताको नाम, थर, ठेगाना, सम्पर्क नम्बर तथा बिक्री गरिएको सिलिन्डरको सङ्ख्या स्पष्ट खुल्ने गरी प्रमाणित र यथार्थ विवरण तयार गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीका अनुसार उक्त विवरण सम्बन्धित नियामक निकायमा पेस गर्नुपर्ने भएकाले पूर्ण, स्पष्ट तथा अभिलेखमा आधारित विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।
शक्ति ग्यासले अधिकृत विक्रेताहरूलाई तोकिएको अवधिको बिक्री-वितरणसम्बन्धी विवरण यथाशीघ्र कम्पनीमा पेस गर्नसमेत आग्रह गरेको छ ।
