पोखरा । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले ग्यासको बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।
यसैक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा २०८३ साउन १८ गते पोखरास्थित विभिन्न ग्यास डिपो तथा डिलरहरूको स्थलगत अनुगमन गरिएको छ ।
बजारमा ग्यास अभावसँगै डिपोहरूमा सर्वसाधारणको भीड बढेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब ग्यास सिलिन्डर ‘पहिला आउने उपभोक्तालाई पहिलो बिक्री’ को आधारमा वितरण गरिनेछ ।
विज्ञप्तिअनुसार ग्यास उद्योग तथा विक्रेताले आफूलाई प्राप्त र वितरण गरेको ग्यासको दैनिक अभिलेख राख्नुपर्नेछ ।
साथै, ग्यास खरिद गर्ने उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध गराइएको ग्यासको परिमाणसमेत अभिलेखीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रशासनले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला, आश्रम, छात्रावासमा बस्ने विद्यार्थी तथा अन्य अत्यावश्यक सेवामा संलग्न संस्थाहरूलाई प्राथमिकताका आधारमा न्यूनतम आवश्यक परिमाणमा ग्यास उपलब्ध गराउन विक्रेतालाई निर्देशन दिएको छ ।
उपभोक्ता तथा व्यवसायी कसैले पनि एलपी ग्यासको अनावश्यक सञ्चितीकरण गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
उद्योगहरूले वितरण गरिएको ग्यास उचित रूपमा बिक्री भएनभएको, कृत्रिम अभाव सिर्जना गरिएको छ वा छैन, तथा मूल्यवृद्धि भएको छ वा छैन भन्ने विषयमा नियमित अनुगमन गर्नुपर्ने जनाइएको छ ।
उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च तथा अन्य सरोकारवाला निकायलाई पनि बजारको सूक्ष्म अनुगमन गरी कुनै अनियमितता देखिए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
त्यसैगरी, खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।
नेपाल आयल निगमको एलपी ग्यास वितरण नियमावली, २०६५ (संशोधनसहित) को पूर्ण पालना गराउन प्रशासनले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।
प्रशासनले विद्युतीय चुलोको प्रयोग बढाएर एलपी ग्यासमाथिको निर्भरता कम गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
ग्यास वितरण, मूल्य वा तौलसम्बन्धी कुनै गुनासो वा समस्या भएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा उपलब्ध गराइएको टोलफ्री नम्बरमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
पोखरामा गृहलक्ष्मी, शक्ति, बाबा, नेपाललगायत विभिन्न कम्पनीका ग्यास डिपो तथा डिलर सञ्चालनमा रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले पहिलेको तुलनामा बजारमा पर्याप्त ग्यास आपूर्ति भइसकेकाले अब अभाव नहुने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच, आइतबार नै पोखराका विभिन्न छात्रावासमा बस्ने विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय पुगेर खाना पकाउने ग्यासको अभावबारे गुनासो गरेका छन् ।
उनीहरूले चिनजानका आधारमा मात्र ग्यास वितरण गरिएको आरोप लगाउँदै आफूहरू ग्यास नपाएर खाना पकाउनसमेत नसकेको बताएका छन् ।
“ग्यासमा पनि राजनीति भयो । चिनेजानेकालाई मात्रै ग्यास दिइयो । हामी भोकै बस्न बाध्य भएका छौँ ।” भन्दै विद्यार्थीहरूले निष्पक्ष र समान रूपमा ग्यास वितरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।