मानव आवाज

२०८३ जेष्ठ २६ गते
00: 00: 00
२०८३ जेष्ठ २६ गते

कास्कीमा छाप छोडेर बिदा हुनुभयो रुद्रादेवी शर्मा

पोखरा । प्रशासनिक, राजनीतिक तथा पर्यटनका दृष्टिले संवेदनशील मानिने कास्की जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सफल कार्यकाल पूरा गरी विवादरहित रूपमा बिदा हुनु सहसचिव रुद्रादेवी शर्माको उल्लेखनीय उपलब्धि मानिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सभाहलमा आयोजित धन्यवाद तथा बिदाइ कार्यक्रममा नागरिक समाज, सञ्चारकर्मी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा उद्योगीहरूले शर्माको कार्यशैलीको प्रशंसा गर्दै उहाँलाई निडर, सक्षम र परिणाममुखी प्रशासकका रूपमा चित्रित गरेका थिए ।

उहाँको नेतृत्वले सुरक्षा तथा प्रशासनजस्ता परम्परागत रूपमा पुरुषप्रधान मानिने क्षेत्रमा पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने सन्देश उहाँको कार्यकालले दिएको सहभागीहरूको भनाइ थियो ।

उहाँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिएको चर्चा कार्यक्रममा गरिएको थियो ।

कास्कीमा कार्यभार सम्हाल्दा प्रशासनिक अवस्था सहज थिएन । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदेश तथा जिल्ला स्तरका सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि प्रशासनलाई पुनः व्यवस्थित बनाउनु चुनौतीपूर्ण थियो ।

सीमित स्रोतसाधन, जनचेतनाको कमी तथा अनिश्चित परिस्थितिका बीच शर्माले शान्ति सुरक्षा कायम राख्ने, सेवा प्रवाहलाई नियमित बनाउने तथा प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।

पोखरा-मुग्लिन पृथ्वीराजमार्ग स्तरोन्नति आयोजना, आन्दोलनपछिको व्यवस्थापन तथा प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने जिम्मेवारीसमेत उहाँकै काँधमा थियो । यी सबै कार्य सफलतापूर्वक सम्पन्न गर्नुभएको भन्दै उहाँको प्रशंसा गरिएको छ ।

कास्की ‘क’ वर्गको जिल्ला भएकाले सेवाग्राहीको चाप उच्च र प्रशासनिक जटिलता पनि बढी छ। यद्यपि शर्माले जिल्ला सदरमुकाममा मात्र सीमित नभई स्थानीय तहसम्म पुगेर सेवा प्रवाह, स्वास्थ्य सेवा, अस्पतालको सुरक्षा व्यवस्था, स्वास्थ्य बीमा कार्यक्रम तथा अन्य सार्वजनिक सेवाको स्थलगत अनुगमनलाई तीव्रता दिनुभयो ।

उहाँको पहलमा खाद्यान्न, माछामासु, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, कृषि सामग्री, एग्रोभेट तथा औषधि पसलमा अनिवार्य मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयनमा जोड दिइयो। साथै फेन्सी, कपडा, कस्मेटिक, ब्युटी पार्लर, सैलुन, होटलरेस्टुरेन्ट, ल्याब, इलेक्ट्रिकल तथा स्टेशनरी पसलहरूमा पनि मूल्यसूची अनिवार्य गर्ने अभियान अघि बढाइयो ।

शर्माको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय कास्कीको सहकार्यमा सार्वजनिक सेवाको ‘होम डेलिभरी’ प्रणाली सुरु गरिएको छ ।

यसअन्तर्गत राहदानी (पासपोर्ट) सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने व्यवस्था गरिएको हो ।

२०८३ वैशाख ११ गते औपचारिक रूपमा सुरु गरिएको उक्त सेवाअन्तर्गत अन्नपूर्ण गाउँपालिका-१ की गीता अधिकारी र वडा नं. २ ढिकुरपोखरीकी तारा ढुङ्गाना भण्डारीलाई निवासमै राहदानी हस्तान्तरण गरिएको थियो ।

बिदाइ कार्यक्रममा बोल्दै शर्माले आफ्नो कार्यकालमा सेवाग्राहीलाई कुनै पनि काममा अनावश्यक दुःख नदिने प्रयास गरेको बताउनुभयो ।

उहाँले नागरिकका गुनासाहरूलाई आफ्नो टेबलबाट नफर्काई निष्पक्ष, समान र न्यायपूर्ण ढङ्गले सम्बोधन गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्नुभयो ।

उहाँको सफल कार्यकालको प्रशंसा गर्दै विभिन्न सरकारी कार्यालय, सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरूले सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरी आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

वि.सं. २०३५ असारमा बागलुङमा जन्मिनुभएकी शर्माले २०६६ सालमा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) बाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो ।

सहसचिवका रूपमा उहाँले रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया र कास्कीपछि सातौँ जिल्लाका रूपमा धनकुटाको नेतृत्व सम्हाल्न लाग्नुभएको छ ।

२०८२ जेठ २० गतेदेखि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएकी शर्माले एक वर्ष पाँच दिनको कार्यकाल पूरा गर्नुभएको हो ।

Author

Related News