पोखरा । पत्रकारितामा अनुसन्धानमूलक लेखनको महत्व बढ्दै गएको सन्दर्भमा सत्यतथ्यमा आधारित सामग्री उत्पादनका लागि यस्ता तालिम प्रभावकारी हुने बताइएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित चारदिने अनुसन्धानमूलक लेखन तालिम २०८३ जेठ २४ गते पोखरामा सुरु भएको हो ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य ले महानगरपालिका पत्रकारहरूको व्यावसायिक विकासका लागि सधैँ सहयोगी रहने बताउनुभयो ।
उहाँले पत्रकार महासङ्घ पत्रकारहरूको हकहित संरक्षणसँगै क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै यस्ता तालिमले पत्रकारितामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख आचार्यले पत्रकारितामा विषयवस्तु फरकफरक भए पनि सत्य, तथ्य र अनुसन्धानको उद्देश्य समान रहने बताउनुभयो। अनुसन्धानमूलक पत्रकारिताले सञ्चार क्षेत्रलाई अझ जिम्मेवार, विश्वसनीय र अद्यावधिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
पत्रकारिता सिकाइ कहिल्यै समाप्त नहुने पेशा भएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारहरू निरन्तर अध्ययन र अद्यावधिक हुन आवश्यक रहेको बताउनुभयो ।
“विश्वका जुनसुकै कुनामा घट्ने घटना र सूचनाबारे पत्रकारहरू प्रतिपल सचेत र अद्यावधिक रहनुपर्छ,” उहाँले भन्नुभयो, “आमनागरिकलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी बोकेको क्षेत्र भएकाले पत्रकारहरूले समयअनुसार आफूलाई निरन्तर परिष्कृत गर्दै लैजानुपर्छ।”
२०८३ जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमका प्रमुख प्रशिक्षकहरूमा डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल तथा डा. कपिल अधिकारी रहनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष माधव बरालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र परिष्कृत बनाउन तालिम उपयोगी हुने बताउनुभयो ।
शाखाका उपाध्यक्ष माधव रेग्मीले पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रास तथा समाचार सामग्रीको प्रभावकारितामा देखिएका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा पोखरास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।