मानव आवाज

२०८३ असार १५ गते
00: 00: 00
२०८३ असार १५ गते

सरकारी कार्यक्रममा खादा, माला र मायाको चिनोमा हुने खर्च कटौती गरौँः रुचाल

पोखरा । गण्डकी प्रदेश सभाअन्तर्गतको सामाजिक विकास तथा कृषि समितिकी सभापति दमयन्ती रुचालले सरकारी कार्यक्रममा हुने अनावश्यक खर्च कटौती गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रदेश सभाको २०८३ असार १३ गतेको शून्य समयमा बोल्दै सभापति रुचालले सरकारी कार्यक्रममा खादा, माला र मायाको चिनो वितरणका नाममा बर्सेनि राज्यकोषबाट ठूलो रकम खर्च भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारी निकायमा खादा खरिदमै वार्षिक ३५ करोड रुपियाँभन्दा बढी खर्च हुने दाबी गर्दै माला र मायाको चिनोको खर्च जोड्दा यो रकम अर्बौं रुपियाँ पुग्ने उल्लेख गर्नुभयो ।

रुचालले राज्यको सीमित स्रोत जनसेवा, उत्पादन, सीप विकास र उद्यमशीलताजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा अनुत्पादक क्षेत्रमा खर्च हुनु दुःखद भएको बताउनुभयो ।

उहाँ अनुसार यस्ता खर्चले जनप्रतिनिधि र पाहुनाबिच औपचारिक विभेद सिर्जना गर्नुका साथै लोकतान्त्रिक सरलता र समानताको भावनामाथि पनि प्रश्न उठाएको छ ।

अनावश्यक खर्च न्यूनीकरणका लागि उहाँले केही वैकल्पिक अभ्याससमेत प्रस्ताव गर्नुभयो । औपचारिक कार्यक्रममा खादाको सट्टा मौखिक अभिवादन गर्ने, मालाको सट्टा स्थानीय फूलको गुच्छा (बुके) प्रयोग गर्ने तथा मायाको चिनोको सट्टा नेपालको संविधान, कानुनी संग्रह वा गण्डकी प्रदेशका लेखकका पुस्तक उपहार दिने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो ।

यी व्यवस्था कार्यान्वयन गर्दा बचत हुने रकम प्रदेशको सीप विकास, उद्यमशीलता तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने उल्लेख गर्दै सभापति रुचालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Author

Share the News

Recent News

Related News