मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

रेडियो अन्नपूर्णद्वारा १५० युनिट रगत सङ्कलन

पोखरा । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित पोखरामा आयोजित बृहत् रक्तदान कार्यक्रमबाट १५० युनिट रगत सङ्कलन गरिएको छ ।

रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेट प्रालिको संयुक्त आयोजनामा सम्पन्न २४औँ बृहत् रक्तदान कार्यक्रममा उक्त परिमाणमा रगत सङ्कलन भएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

२०८२ चैत २१ गते पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित रेडियो अन्नपूर्णको प्राङ्गणमा आयोजित कार्यक्रममा १ सय २० जना पुरुष र ३० जना महिलाले रक्तदान गरेका कार्यक्रम संयोजक सीता क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले गर्नुभएको थियो ।

उहाँले पहिलो रक्तदाता, ८४औँ पटक रक्तदान गरिसक्नुभएका सामाजिक अभियान्ता तथा पत्रकार कृष्णबहादुर थापा लाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

उक्त अवसरमा प्रहरी उपरीक्षक कार्कीले रक्तदानजस्तो महत्त्वपूर्ण सामाजिक कार्यमा सञ्चार माध्यमले अग्रसरता देखाएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लामो समयदेखि रक्तदान अभियानमा सक्रिय योगदान पुर्‍याउँदै आउनुभएका कृष्णबहादुर थापा लाई सम्मानसमेत गरिएको थियो ।

रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखेले कार्यक्रममार्फत सङ्कलित रगतले आपतकालीन अवस्थामा बिरामीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोले स्थापना कालदेखि नै हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक वर्षहरूमा ४०० युनिटसम्म रगत संकलन हुने गरेको अनुभव रहेको छ ।

कार्यक्रममा विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, मार्केटिङ म्यानेजर नारायण पौडेल तथा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गत वर्षको रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत सङ्कलन भएको जानकारी रेडियोकर्मी आरजु विष्ट सल्यानी ले दिनुभयो ।

रेडियो अन्नपूर्णले आगामी वैशाख १२ गते २५औँ वार्षिकोत्सवको मुख्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । हाल रेडियोले रजत वर्ष मनाइरहेको छ ।

Author

Related News