पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नयाँ भाडादर २०८३ वैशाख २३ गतेदेखि लागू हुने जनाएको छ ।
मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार २०७८ फागुन १ गते निर्धारण गरिएको भाडादरलाई परिमार्जन गर्दै हालको मूल्यवृद्धि, विशेषगरी इन्धनको मूल्यमा आएको तीव्र वृद्धिलाई आधार मानेर नयाँ दर कायम गरिएको हो ।
लामो समयसम्म भाडादर समायोजन नहुँदा व्यवसायीले आफूखुसी भाडा बढाउने र यात्रुसँग विवाद हुने अवस्था सिर्जना हुँदै आएको थियो ।
२०७८ पुस २० गते पेट्रोल प्रतिलिटर १३६ रुपियाँ र डिजेल १२० रुपियाँ रहेकामा २०८३ वैशाखसम्म पेट्रोल २१९ र डिजेल २३७ रुपियाँ पुगेपछि समायोजन आवश्यक भएको मन्त्रालयको भनाइ छ ।
नयाँ दरअनुसार पोखरा उपत्यकामा सिटी बसको न्यूनतम भाडा २० रुपियाँबाट बढाएर २४ रुपियाँ कायम गरिएको छ ।
तीन किलोमिटरभन्दा माथिको दूरीमा प्रति किलोमिटर २.५ रुपियाँबाट बढाएर ३ रुपियाँ निर्धारण गरिएको छ भने २० किलोमिटरभन्दा माथिको दूरीमा पनि यही दर लागू हुनेछ ।
पेट्रोलबाट चल्ने ट्याक्सी सेवामा फ्ल्याग डाउन ८० रुपियाँ यथावत राखिएको छ । तर प्रति २०० मिटरको दर १० रुपियाँबाट बढाएर ११ रुपियाँ कायम गरिएको छ ।
१५ किलोमिटरभन्दा माथि प्रति किलोमिटर ४३ रुपियाँ निर्धारण गरिएको छ, जुन पहिले ३७.६७ रुपियाँ थियो ।
रात्रिकालीन सेवामा राति ९ बजेदेखि बिहान ४ बजेसम्म फ्ल्याग डाउन ८० रुपियाँ नै रहनेछ भने प्रति २०० मिटर १७ रुपियाँ तिर्नुपर्नेछ ।
जिप सेवामा प्रति किलोमिटर ५.५ रुपियाँबाट बढाएर ७ रुपियाँ कायम गरिएको छ । लामो दूरीका बसमा भने सामान्य वृद्धि गर्दै ३.९ रुपियाँबाट ४ रुपियाँ प्रति किलोमिटर निर्धारण गरिएको छ ।
सामान ढुवानी गर्ने ट्रकको भाडामा उल्लेखनीय वृद्धि गरिएको छ । अब प्रति टन प्रति किलोमिटर ११.७२ रुपियाँबाट बढाएर १५ रुपियाँ कायम गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने ट्याक्सी सेवामा पनि नयाँ दर लागू गरिएको छ । यहाँ फ्ल्याग डाउन ८० रुपियाँ नै यथावत रहे पनि प्रति २०० मिटर १२ रुपियाँ कायम गरिएको छ । १५ किलोमिटरभन्दा माथि प्रति किलोमिटर ४३ रुपियाँ लाग्नेछ ।
सरकारले विद्युतीय सवारीसाधनका लागि भने हाललाई पुरानै भाडादर कायम राखेको जनाएको छ ।