मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

पोखरामा उद्घोषण तथा भाषणकला तालिम

पोखरा सीमान्तकृत महिलाहरूको सञ्चार सीप, सार्वजनिक प्रस्तुति क्षमता तथा नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ ।

मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिका–२६ को आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम २०८३ जेठ २४ गते सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–२६ का वडा अध्यक्ष नरेन्द्रबहादुर थापाले तालिमले महिलाहरूलाई सार्वजनिक रूपमा आफ्ना विचार प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने सीप र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सीमान्तकृत महिलाको सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक सहभागिता अभिवृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा पत्रकार दिपक परियारले उद्घोषण, सार्वजनिक भाषणकला, नेतृत्व विकास, कानुनी प्रावधान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलगायत विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य राधा बराल तथा सुजता बरालले तालिमले महिलाहरूलाई आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गर्न प्रेरित गर्ने धारणा राख्नुभयो ।

मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपालका अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अञ्जना बिकले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य बबिता बिकले गर्नुभएको थियो ।

तालिममा वडा कार्यालयका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय महिलासहित ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा महिलाहरूको नेतृत्व विकास, समावेशी विकास र लैङ्गिक समानताको लक्ष्य हासिल गर्न यस्ता तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गरिएको थियो ।

Author

Related News