पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता र अन्नपूर्ण गाउँपालिका एवम् हुलाक निर्देशनालय कास्कीको सहकार्यमा अन्नपूर्ण गाउँपालिकाबाट पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरू गरिएको छ ।
हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै २०८३ वैशाख ११ गते यसको औपचारिक शुभारम्भ गरिएको हो ।
सार्वजनिक सेवाको सुरुवातसँगै अन्नपूर्ण गाउँपालिका-१, लेवाडे निवासी गीता अधिकारी तथा वडा नं. २, ढिकुरपोखरी निवासी तारा ढुङ्गाना भण्डारीलाई उहाँहरूको निवासमै राहदानी हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्त रूपमा राहदानी हस्तान्तरण गर्नुभएको थियो।
शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमन समेत गर्नुभएको थियो ।
समसामयिक विषयहरू तथा नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गरिएको उहाँले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाले यस सेवाबाट नागरिकलाई सहज, छिटो तथा झन्झटरहित सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई थप विस्तार गर्दै लैजान सरकारका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य जारी राख्ने जनाएको छ ।