मानव आवाज

२०८३ भाद्र ४ गते
00: 00: 00
२०८३ भाद्र ४ गते

व्यावहारिक ज्ञान महत्त्वपूर्ण : पर्यटनमन्त्री रिमाल

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशको आयोजना, नेपाल पर्यटन बोर्डको समन्वय तथा अमेरिकी दूतावास नेपालको सहयोगमा पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूका लागि २० घण्टे व्यावहारिक तथा सघन अङ्ग्रेजी भाषा तालिम पोखरामा सुरु भएको छ ।

२०८३ भदौ ४ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री यशोदा रिमालले व्यावहारिक तथा प्रयोगात्मक ज्ञान पर्यटन क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री रिमालले यस्ता तालिमले पर्यटन व्यवसायी तथा पर्यटक सवारी चालकहरूको दक्षता अभिवृद्धि गर्नुका साथै पर्यटकप्रतिको आतिथ्यता र सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

पर्यटनमन्त्री रिमालले पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने सवारी चालकहरू देशका ‘संवाहक’ भएकाले उनीहरूको भाषागत क्षमता, व्यवहार र आचरणले नेपालको समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी र नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख मणिराज लामिछानेले तालिमले पर्यटक सवारी चालकहरूलाई विदेशी पर्यटकसँग प्रभावकारी रूपमा संवाद गर्न तथा सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

पर्यटन क्षेत्रमा कार्यरत पर्यटक सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम २०८३ भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा २० जना पर्यटक सवारी चालकको सहभागिता रहेको सङ्घका सचिव तथा कार्यक्रम संयोजक शोभाखर तिवारीले जानकारी दिनुभयो ।

तालिमका मुख्य प्रशिक्षक अमेरिकी दूतावास नेपालका रिलोज कार्यक्रम विशेषज्ञ विश्वराज गौतम रहनुभएको छ ।

सङ्घका अध्यक्ष रविप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तथा कार्यक्रम संयोजक शोभाखर तिवारीले स्वागत मन्तव्य र महासचिव श्याम लामिछानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News