मानव आवाज

२०८३ जेष्ठ ६ गते
00: 00: 00
२०८३ जेष्ठ ६ गते

तीन दिनभित्र अनधिकृत संरचना हटाउन पोखरा महानगरको सूचना

पोखरा पछिल्लो समय पोखरा महानगरपालिकाले मापदण्ड विपरीत तथा सार्वजनिक जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ ।

फेवातालको सौन्दर्य र अस्तित्व संरक्षण गर्दै सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने उद्देश्यले महानगरले अवैध संरचना हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

महानगरपालिकाले २०८३ जेठ ६ गते सूचना जारी गर्दै फिर्के खोलाको खोलाघर भित्र निर्माण गरिएका सम्पूर्ण अवैध संरचना सम्बन्धित व्यक्ति वा संस्थाले २०८३ जेठ ९ गतेभित्र आफैँ हटाउन निर्देशन दिएको छ ।

सूचनामा तोकिएको समयभित्र संरचना नहटाइए महानगरपालिकाले डोजर प्रयोग गरी हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने उल्लेख गरिएको छ ।

फिर्केखोला वडा नम्बर १८ को अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं. ६ को गाईघाटबाट फेवातालमा मिसिने क्षेत्र हो ।

यस क्षेत्रभित्र निर्माण गरिएका संरचनालाई लक्षित गरी महानगरले सूचना जारी गरेको जनाएको छ ।

यसअघि पनि महानगरले स्थलगत नापजाँच, पोल गाड्ने तथा सूचना जारी गर्ने कार्य गरिसकेको थियो ।

उच्च अदालत पोखराबाट रिट खारेज भएपछि संरचना हटाउने प्रक्रियाले कानुनी आधार प्राप्त गरेको बताइएको छ  ।

यस्तै, वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडि पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यावसायिक सटरहरू हटाइएको छ ।

टिनका टहरा बनाएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले महानगरपालिकाको रोहबरमा विद्यालयसँग समन्वय गरी संरचना हटाएका हुन् ।

संरचना हटाएर शहरी सौन्दर्यीकरण अभियानमा सहयोग पुर्‍याएको भन्दै नगर प्रमुख धनराज आचार्यले व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको पुनर्स्थापनाका विषयमा विद्यालयसँग आवश्यक छलफल र समन्वय गरिने पनि उहाँले बताउनुभएको छ ।

Author

Share the News

Recent News

Related News