पोखरा । नेपाल पत्रकार महासङ्घ, कास्की शाखाले आफ्नो ७१ औँ स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
२०८२ चैत १६ गते आयोजित कार्यक्रममा ‘पोखरा पत्रकारिता सम्मान’ तथा ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिने बताइएको छ ।
महासङ्घले हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा संस्थालाई ‘पोखरा पत्रकारिता सम्मान’ प्रदान गर्दै आएको छ ।
यसैक्रममा सम्मान छनोट समितिको सिफारिसअनुसार वर्ष २०८१ का लागि वरिष्ठ पत्रकार राजबहादुर गुरुङ र वर्ष २०८२ का लागि सहारा क्लबलाई उक्त सम्मान प्रदान गरिने भएको हो ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल ‘युनाइटेड खबर’ अनलाइनमा आबद्ध हुनुहुन्छ । उक्त सम्मानको राशि नगद रु. ५० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।
सम्मान छनोट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गङ्गाधर पराजुली रहनुभएको छ ।
यसैगरी ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ वर्ष २०८१ का लागि पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ का लागि एकराज गिरीलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलसहित पत्रकार रुद्र श्रीस मगर र भीम थापाको रहेको छनोट समितिको सिफारिसमा उक्त निर्णय गरिएको हो ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी हाल ‘गोरखापत्र दैनिक’मा तथा गिरी ‘सफल न्यूज’मा आबद्ध हुनुहुन्छ । उक्त पुरस्कारको राशि नगद रु. २५ हजार ५ सय ५५ र सम्मानपत्र रहेको छ ।