पोखरा । हरेक वर्ष मार्च २१ का दिन मनाइने अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा पोखरा महानगरपालिका–३३ मा विभेद विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
“Mobilizing Political Will” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन” भन्ने राष्ट्रिय नाराका साथ मानवअधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, कास्कीको आयोजना तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (प्रदेश) र पोखरा महानगरपालिका-३३ को समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा २०८२ चैत ७ गते भरतपोखरी बाघमारामा सरोकारवालाबीच विभेद विरुद्ध र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले अमानवीय व्यवहारविरुद्ध कानुन बने पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गर्नु भयो ।
उहाँले गैरदलित समुदायले समेत यस मुद्दालाई आफ्नो मुद्दाका रूपमा ग्रहण नगरेसम्म विभेद अन्त्य हुन कठिन हुने धारणा राख्नु भयो ।
उहाँका अनुसार दलित अधिकारका लागि विभिन्न सङ्घसंस्थाहरू सक्रिय भए पनि नीति निर्माण तथा पहुँचका तहमा दलित समुदायको न्यून उपस्थिति रहनु गम्भीर चुनौतीका रूपमा रहेको छ ।
टोल तथा शहरी क्षेत्रमा समेत विभेदका घटना सामान्यजस्तै देखिनु चिन्ताजनक भएको उहाँले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य लीला नेपाली र भरतपोखरी विश्वकर्मा समाजका अध्यक्ष शिव प्रटेलले नेपालको संविधान २०७२ ले दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्वयनका लागि निरन्तर खबरदारी आवश्यक रहेको धारणा राख्नु भयो ।
सोही कार्यक्रममा पवित्रा विश्वकर्माको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय “मानवअधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल” समिति पोखरा-३३ गठन गरिएको छ ।
संस्थाकी अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा उद्देश्यबारे कोषाध्यक्ष सोनिया गुरुङ विकले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव सपना बि.कले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय समुदाय, सामाजिक सङ्घसंस्था तथा टोल विकास संस्थाका प्रतिनिधिसहित करिब ८० जनाको सहभागिता रहेको थियो ।