मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

लागू औषध नियन्त्रणसम्बन्धी अभिमुखीकरण सम्पन्न

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा स्थानीय समुदायलाई दुर्व्यसनमुक्त बनाउँदै स्वस्थ र सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्यले “लागू औषध दुरुपयोग, ओसारपसार, बेचबिखन, रोकथाम एवम् नियन्त्रणसम्बन्धी अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम” २०८२ चैत २७ गते प्रशासनको सभा कक्षमा सम्पन्न भएको छ ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको प्रमुख उद्देश्य लागू औषध दुरुपयोगबाट उत्पन्न सामाजिक तथा स्वास्थ्य समस्याबारे जानकारी गराउँदै यसबाट बच्ने उपायहरूबारे सचेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो ।

उहाँका अनुसार लागू औषध दुरुपयोगका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको छ ।

प्रजिअ शर्माले उक्त कार्यक्रमले लागू औषध दुरुपयोगविरुद्ध सकारात्मक सोच विकास गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले विशेषगरी युवावर्गलाई लक्षित गरी स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमहरू अझ व्यापक रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नविन कार्कीले लागू औषध नियन्त्रणका लागि भइरहेका प्रयासहरूबारे जानकारी गराउँदै समुदायस्तरमा सचेतना फैलाउनु अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमको सहजिकरण कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरू, सरोकारवाला निकाय, स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Author

Related News