मानव आवाज

२०८३ बैशाख १६ गते
00: 00: 00
२०८३ बैशाख १६ गते

पोखरा-१७ मा नसर्ने रोग स्क्रिनिङ तथा सचेतना कार्यक्रम, ६० जना लाभान्वित

पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा-१७ (विरौटा) को आयोजना, वडा कार्यालयको समन्वय तथा नेपाल विकास समाजको सहकार्यमा नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम २०८३ वैशाख १६ गते पोखरा महानगरपालिका–१७ स्थित बेलघारी टोल विकास संस्थाको सभाकक्षमा सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राधिकाकुमारी शाहीले स्थानीय तह नागरिकको घरआँगनकै सरकार भएकाले वडावासीको स्वास्थ्यप्रति संवेदनशील भई विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी टोलटोलमै स्वास्थ्य सेवा पुर्‍याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बेलघारीबाट सुरु गरिएको यो अभियान आगामी दिनमा वडा नं. १७ का विभिन्न चार स्थानमा विस्तार गरिनेछ, जसले सबै नागरिकलाई सहज पहुँचमा सेवा उपलब्ध गराउने लक्ष्य छ ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले महानगरले स्वास्थ्य नीति, वार्षिक बजेट तथा स्वीकृत कार्यक्रमअनुसार आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले ३३ ओटै वडाका नागरिकको स्वास्थ्यप्रति जिम्मेवार भई समुदायमै लुकेर रहेका रोगको पहिचान र उपचार तथा रोग सर्न नदिन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

वडा सदस्य विष्णुमाया थापाले विशेषगरी महिलाहरू अस्पताल जान नपाउने अवस्थालाई ध्यानमा राखी टोलमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम शहरी स्वास्थ्य प्रवर्धन केन्द्र पोखरा-१७ की इन्चार्ज हेलन पन्तको नेतृत्वमा सञ्चालन भएको थियो ।

कार्यक्रममा डा. सागर अधिकारीसहित स्वास्थ्यकर्मी अनिता शर्मा पौडेल र कल्पना अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा मधुमेह, रक्तचाप, तौल, उचाइ जाँचका साथै परामर्श सेवा प्रदान गरिएको थियो । साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

बेलघारी टोल विकास संस्थाका अध्यक्ष बुद्धिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा उद्देश्यबारे जानकारी हेलन पन्तले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नर्स अनिता शर्मा पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमबाट ६० जना लाभान्वित भएका छन्, जसमा ४३ जना महिला र १७ जना पुरुष रहेका छन् ।

सहभागीहरूको उमेर समूह १६ देखि ८४ वर्षसम्म रहेको स्वास्थ्य स्वयम्सेविका रुकमाया बरालले जानकारी दिनुभयो ।

Author

Related News