पोखरा । पोखरा महानगरपालिका–१५ र १७ को सिमानामा रहेको रातोपैह्रा क्षेत्रमा पहिरो खसेर सेती नदीको बहाव अवरुद्ध भएपछि आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। निरन्तर दुई दिनदेखि परेको वर्षाका कारण गएको पहिरोले नदी थुनिएको हो ।
स्थानीय तथा पत्रकार हरिप्रसाद बास्तोलाका अनुसार नदी थुनिएपछि पानीको सतह बढ्न सक्ने र प्राकृतिक बाँध अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने जोखिम रहेको छ । उहाँले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
यसैबिच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन तथा खोल्सा, खोला र नदी किनारमा नजान अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रदीप पौडेलद्वारा २०८३ साउन २ गते जारी सूचनामा कुनै पनि बेला आकस्मिक बाढी आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रबाट टाढा रहन, प्रशासन तथा सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कास्कीबाट सञ्चालन हुने लामो दूरीका सवारी साधनमा रात्रीकालीन रोक लगाइएको छ ।
पोखरा–काठमाडौं (पृथ्वी राजमार्ग), पोखरा–बुटवल (सिद्धार्थ राजमार्ग), पोखरा–बागलुङ (भूपी शेरचन राजमार्ग) तथा पोखराबाट महेन्द्र राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने र त्यहाँबाट पोखरा भित्रिने सवारी साधन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, पोखराबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी साधन पनि साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ ।
प्रशासनले बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा मौसम र सुरक्षा निकायबाट जारी सूचनाको निरन्तर पालना गर्न आग्रह गरेको छ ।
आपत्कालीन अवस्थामा तत्काल १२३४ नम्बरमा सम्पर्क गर्नु हुन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
