सिन्धुली । नेपाल इन्जिनियर्स एसोसिएसनले सुनकोशी-मरिण डाइभर्सन आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरियासँग सम्बन्धित घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै एसोसिएसनका केन्द्रीय अध्यक्ष इन्जिनियर डा. सुवासचन्द्र बरालले विज्ञप्ति जारी गरी कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया र आवश्यकताको सिद्धान्त पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेसागत मर्यादामाथि प्रश्न उठाउने एसोसिएसनको ठहर छ ।
सुनकोशी–मरिन डाइभर्सन आयोजनाका निर्देशक रिजाल प्रहरी नियन्त्रणमा
एसोसिएसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा सम्बन्धित व्यक्तिहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।
त्यस्तै, घटनासम्बन्धी अनुसन्धान कानुनबमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत ढङ्गले अघि बढाउन पनि एसोसिएसनले आग्रह गरेको छ ।
व्यक्तिको मौलिक हक तथा अधिकारको सम्मान गर्दै स्थापित कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्नेमा विज्ञप्तिले जोड दिएको छ ।
एसोसिएसनले कानुनी शासन र पेसागत मर्यादा कायम राख्न सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेको छ ।
