पोखरा । बागलुङ समाज पोखराको १३औँ अधिवेशनबाट नरेश सुवेदी अध्यक्षमा चयन हुनुभएको छ ।
समाजको २५औँ वार्षिक साधारणसभा तथा रजत वर्षको अवसर पारेर २०८२ चैत ७ गते पोखरा महानगरपालिका-१७ विरौटामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव–निर्वाचित कार्यसमितिको उपाध्यक्षमा गङ्गबहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा कोपिला श्रीस तथा सदस्यहरूमा रमेश विक, दुर्गबहादुर खत्री, गोमा कार्की बाँस्कोटा, रुद्रबहादुर श्रीस, सूर्यबहादुर थापा र हिरा थापा चयन हुनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसँग जोडिएर समाजसेवा गर्न पाउनु गौरवको विषय भएको बताउनु भयो ।
उहाँले बागलुङ समाज पोखराले जन्मथलोसँग सम्बन्ध जोडेर सामाजिक सेवाका कार्य गर्दै आएको उल्लेख गर्दै आपतविपतमा समेत सक्रिय भूमिका खेलेको बताउनु भयो ।
समाजले गरेका रचनात्मक तथा सिर्जनात्मक कार्यले छुट्टै पहिचान बनाएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफ्नो जिल्लामा पहिलोपटक यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै समाजका सकारात्मक तथा रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा उपसभामुख थापा र प्रमुख जिल्ला अधिकारी शर्मालगायतले समाजद्वारा रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती स्मारिका’ सार्वजनिक गर्नुभएको थियो ।

सो अवसरमा समाजमा आबद्ध चार जना ज्येष्ठ नागरिकहरू-चिरञ्जिवी श्रेष्ठ, उपेन्द्रराज पन्त, बमबहादुर छन्त्याल र रामप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, प्रेमप्रसाद स्मृति अक्षयकोष र हरिलाल कँडेल स्मृति अक्षयकोषमार्फत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू कुलचन्द्र शर्मा, सुनिल पाण्डे, डिल्लीप्रसाद शर्मा, ढाकाराम पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा सचिव गगबहादुर पुनले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन छलफलपछि पारित गरिएको सहसचिव कोपिला श्रीसले जानकारी दिनु भयो ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नरेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव गङ्गबहादुर पुनले गर्नुभएको थियो ।