मानव आवाज

२०८३ भाद्र ७ गते
00: 00: 00
२०८३ भाद्र ७ गते

स्पा तथा मसाज सेन्टरको अनुगमन, यस्तो रहेछ अवस्था !

पोखरा । जिल्ला अनुगमन समिति, कास्कीले पोखरा महानगरपालिका-६, लेकसाइडस्थित आठवटा मसाज तथा स्पा सेन्टरको स्थलगत अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालयका प्रतिनिधि तथा सञ्चारकर्मी सम्मिलित टोलीले २०८३ भदौ ४ गते ती मसाज तथा स्पा सेन्टरको संयुक्त अनुगमन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी चित्राङ्गत बरालले पर्यटकीय क्षेत्र लेकसाइडका मसाज तथा स्पा सेन्टरमा विकृति बढेको भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रममा तथा स्थानीयवासीबाट गुनासो आएपछि अनुगमन गरिएको बताउनुभयो ।

अनुगमनका क्रममा केही स्पा तथा मसाज सेन्टर आचारसंहिताविपरीत सञ्चालन भएको, पर्याप्त सरसफाइ नभएको तथा केही सेन्टरमा कार्यरत युवतीहरू अस्वाभाविक पोसाकमा रहेको पाइएको बरालले जानकारी दिनुभयो ।

“मसाज तथा स्पा सेन्टरले मर्यादित रूपमा आफ्नो पेसा व्यवसाय सञ्चालन गर्न पाउँछन् । तर, समाजलाई नै असर पर्ने गरी सञ्चालन गर्न मिल्दैन ।”-बरालले भन्नुभयो-“मसाज तथा स्पा सेन्टरबाट बाहिर निस्केर सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पर्यटकलाई बोलाउने गतिविधिले विकृति फैलाएको हो ।”

लेकसाइड क्षेत्रमा करिब २ सयभन्दा बढी मसाज तथा स्पा सेन्टर सञ्चालनमा रहेको जानकारी दिँदै बरालले नियमविपरीत सञ्चालन भएका व्यवसायलाई नियमन गरिने र विकृति फैलाउने गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने बताउनुभयो ।

अनुगमनका क्रममा केही मसाज सेन्टरमा बालिकालाई काममा लगाइएको समेत पाइएको थियो । बालिकाहरूले आफ्नो उमेर बढाएर बताउने गरेको र अधिकांशले न्यूनतम पारिश्रमिकसमेत नपाएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी, केही मसाज तथा स्पा सेन्टरका कोठामा चुकुल लगाउने व्यवस्था रहेको समेत पाइएको थियो ।

“स्पा तथा मसाज सेन्टरका कोठामा चुकुल हुनु हुँदैन । केही सेन्टरमा चुकुल रहेको पाइएको छ । यसले अमर्यादित गतिविधि हुने गरेको हुन सक्ने देखिएकाले त्यसतर्फ पनि प्रशासनको ध्यान गएको छ ।”-बरालले भन्नुभयो ।

अनुगमनका क्रममा केही व्यवसायीलाई सरसफाइ तथा सेवा गुणस्तर सुधार गर्न सुझाव दिइएको छ ।

व्यवसाय दर्ता नगरी सञ्चालन गरेका, दर्ता विवरणभन्दा फरक नाम वा फर्मबाट व्यवसाय सञ्चालन गरेका तथा व्यवसाय नवीकरण नगरेका व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र व्यवसाय नवीकरण गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिइएको जिल्ला अनुगमन समितिले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार