मानव आवाज

२०८३ भाद्र ४ गते
00: 00: 00
२०८३ भाद्र ४ गते

होटल, रेष्टुरेन्ट र सरकारी कार्यालय परिसरका क्यान्टिन अनुगमन

पोखरा । जिल्ला अनुगमन समिति, कास्कीले पोखरा महानगरपालिका-९ स्थित बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट तथा खाद्य पसल र कास्की जिल्ला अदालत परिसरमा सञ्चालित क्यान्टिनको अनुगमन गरेको छ ।

जिल्ला अनुगमन समिति कास्कीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा २०८३ भदौ ३ गते अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा जिल्ला अदालत परिसरको क्यान्टिनसहित बसपार्क क्षेत्रका आधा दर्जन होटल तथा रेष्टुरेन्टमा सरसफाइ, खाद्य पदार्थको गुणस्तर तथा व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरिएको थियो ।

अनुगमन टोलीले व्यवसायीलाई सरसफाइमा विशेष ध्यान दिन र खाद्य पदार्थको गुणस्तर कायम राख्न सुझाव दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले व्यवसायीहरूलाई व्यवसाय नवीकरण अद्यावधिक गर्न, नियमित सरसफाइ कायम राख्न, उपभोग्य मिति सकिएका सामग्री छुट्टै राखी नष्ट गर्न तथा कुहिने र नकुहिने फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

त्यस्तै, खरिदबिक्रीका बिल व्यवस्थित राख्न र खाद्य पदार्थको उचित भण्डारणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

बरालका अनुसार बसपार्क क्षेत्रका होटल तथा रेष्टुरेन्टबारे जनगुनासो आएपछि अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही व्यवसायमा सरसफाइ तथा गुणस्तर सुधार गर्न सुझाव दिइएको उहाँले बताउनुभयो ।

व्यवसाय नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र व्यवसाय नवीकरण गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा, पोखरा महानगरपालिका, उपभोक्ता मञ्चका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

जिल्ला अनुगमन समितिले पछिल्लो समय पोखराका विभिन्न होटल तथा रेष्टुरेन्टको अनुगमनलाई तीव्रता दिएको छ ।

समितिले अनुगमनका क्रममा सुधारका लागि सुझाव दिनुका साथै आवश्यकताअनुसार जरिबाना तथा अन्य कारबाहीलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ ।

Author

Share the News

Recent News

Related News