पोखरा । पोखरा महानगरपालिकाले वडा नं. १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल परिसर आसपासको सार्वजनिक जग्गा खुला गरी बाटो कायम गर्न अस्पताललाई निर्देशन दिएको छ ।
महानगरपालिकाले २०८२ फागुन २७ गते जारी गरेको सूचनाअनुसार वडा कार्यालय र नेपाल नेत्रज्योति सङ्घ, कास्कीलाई निर्णय कार्यान्वयन गर्न आदेश दिइएको हो ।
उक्त निर्णयअनुसार हिमालय आँखा अस्पतालको गेटदेखि पोखरा होम्ससम्म, मुख्य सडकदेखि पूर्व र नेत्रज्योति सङ्घदेखि पश्चिमतर्फ पर्ने सार्वजनिक जग्गालाई बाटोका रूपमा प्रयोगयोग्य बनाइनेछ ।
यसअघि स्थानीयवासी तथा नागरिक समाजका अगुवा रामप्रसाद सुवेदीको नेतृत्वमा स्थानीयहरूले २०८२ साउन २७ गते वडा अध्यक्ष राधिका शाही योगीसमक्ष निवेदन दिँदै उक्त क्षेत्रमा सार्वजनिक बाटो कायम गर्न माग गरेका थिए ।
उक्त विषयमा नापी कार्यालयको २०८१ असार ५ गतेको निर्णयलाई आधार मान्दै सम्बन्धित जग्गा नेपाल सरकारको नाममा सार्वजनिक बाटोका रूपमा फिल्डबुकमा उल्लेख भएको स्पष्ट गरिएको छ । यससँगै विगतमा भएका भोगचलनसम्बन्धी सहमतिहरू स्वतः समाप्त भएको जनाइएको छ ।
यसअघि पोखरा महानगरपालिका वडा नं १७ घारीपाटन स्थिति नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको गेटदेखि पोखरा होम्ससम्म बाटो खुलाउन आग्रह गरिएको थियो ।
मुख्य सडकदेखि पूर्व, नेत्रज्योति सङ्घदेखि पश्चिमतर्फ रहेको सार्वजनिक जग्गालाई सार्वजनिक बाटो खुलाउन स्थानीयबासी एवम् नागरिक समाजका अगुवा रामप्रसाद सुवेदीको नेतृत्वमा स्थानीय व्यक्तिहरूले पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीलाई भेटी २०८२ साउन २७ गते निवेदनमार्फत अनुरोध गरेका थिए ।
वडा कार्यालयको पत्र (च.नं. ८०८, मिति २०८२/०५/२२) तथा स्थानीय १७ ओटा टोल विकास संस्था र नागरिकहरूको संयुक्त निवेदनका आधारमा उक्त क्षेत्रमा रहेको करिब ३ रोपनी १२ आना सार्वजनिक जग्गामा बनाइएका पर्खाल तथा बारबन्देज हटाई बाटो फराकिलो बनाउन सिफारिस गरिएको थियो ।
नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा भएको निर्णयअनुसार अस्पतालको सेवामा बाधा नपर्ने गरी फुटपाथ, शौचालय, तारबार, हरियाली तथा सौन्दर्यीकरणका कामसमेत गर्दै सर्वसाधारणलाई प्रयोगयोग्य हुने गरी बाटो व्यवस्थापन गरिनेछ ।
हाल उक्त जग्गा नेत्रज्योति सङ्घले बनाएको पर्खालभित्र परेको भन्दै स्थानीय १७ ओटा टोल विकास संस्था र आमा समूहहरूले पटक-पटक पर्खाल हटाउन माग गर्दै आएका थिए ।
महानगरपालिकाले सो विषयमा सुनुवाइ गरी निर्णय गरेपछि स्थानीयहरूले धन्यवाद ज्ञापन गरेका छन् ।
