पोखरा । “कोदोबाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा पोखरा महानगरपालिका-२२, पुम्दीभुम्दीको कोदीमा शनिबार विविध कार्यक्रम आयोजना गरिएको छ ।
पुम्दीभुम्दी कृषि सहकारी संस्था लिमिटेड र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजना तथा वडा नं. २२ कार्यालय, वडास्तरीय कृषि सञ्जाल र विभिन्न स्थानीय संघसंस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकाले यसको संरक्षण, प्रवर्धन र खेती विस्तार आजको आवश्यकता भएको बताउनुभयो ।
उहाँले रैथाने बालीको उत्पादन बढाउन, खेती विस्तार गर्न तथा कृषकलाई प्रोत्साहन गर्न महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन वृद्धि, बजारीकरण र मूल्य अभिवृद्धिमार्फत कृषकको आय बढाउन आवश्यक नीति तथा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
स्थानीय उत्पादनको उपयोग र उपभोग बढाउँदै खाद्य सुरक्षा र आत्मनिर्भर कृषितर्फ अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख आचार्यले कोदो उत्पादक कृषकलाई न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उत्कृष्ट कोदो उत्पादक कृषकहरूलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
सम्मानित हुनेमा १७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२२ का खगी घर्ती, ११ रोपनीमा खेती गर्ने पोखरा-२० का दुर्गा बहादुर सुनार, १० रोपनीमा खेती गर्ने पोखरा-२८ की शोभा भण्डारी तथा ९ रोपनीमा खेती गर्ने पोखरा-२३ का होमबहादुर गुरुङ रहनुभएको थियो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगर क्षेत्रमा करिब ३ हजार ८ सय हेक्टरमा कोदो खेती हुँदै आएको र वार्षिक करिब ४ हजार ८ सय मेट्रिक टन उत्पादन हुने अनुमान रहेको जानकारी दिनुभयो ।
बजारमा माग बढ्दै गए पनि उत्पादन घट्दो क्रममा रहेकाले कृषकलाई कोदो खेतीतर्फ आकर्षित गर्न न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कोदो तथा अन्य रैथाने बाली (चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि) र तिनबाट बनेका परिकारहरूको प्रदर्शनी गरिएको थियो ।
साथै कोदो रोपाइँ प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान, कोदोसम्बन्धी कविता वाचन, लोकगीत तथा भजन प्रस्तुति पनि कार्यक्रमका आकर्षण बने ।
कार्यक्रममा कृषक, कृषि उद्यमी, सहकारीका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कोदो रोपाइँ प्रतियोगितामा सृजनशील कृषि समूह प्रथम कोदो दिवसको अवसरमा आयोजित कोदो रोपाइँ प्रतियोगितामा पोखरा–२७ को सृजनशील कृषि समूह प्रथम भएको छ । समूहमा सितादेवी लामिछाने, प्रभा घिमिरे र अप्सरा बराल सहभागी हुनुहुन्थ्यो ।
पोखरा-२२ को रातिपोखरी कृषि संकलन केन्द्र दोस्रो भएको छ । उक्त समूहमा अग्निमाया बराल, चन्द्रकला बराल र दुर्गा पौडेल रहनुभएको थियो ।
यस्तै पोखरा-२२ को रानीवन चेतनशील महिला समूह तेस्रो भएको छ । समूहमा पार्वतीकुमारी शर्मा, पार्वती पौडेल र हेमकुमारी रिजाल शर्मा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा पोखरा-२२ का वडा अध्यक्ष हिमलाल बराल, पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, कार्यक्रम संयोजक झम्कनाथ बरालले राष्ट्रिय कोदो दिवसले गाउँमा कोदोको महत्व थप स्थापित भएको बताउँदै यसले स्थानीय कृषकलाई उत्पादन वृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
पुम्दीभुम्दी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुहरी बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव घनश्याम देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।